काठमाडौं ।
आयोजक नेपालका लागि खेल निर्णायक थियो । उस्तै अवस्था माल्दिभ्स थियो ।
कुरा नेपालमा जारी एभिसी सेन्ट्रल जोन च्याम्पियनसिपको हो ।
अनि खेल समुह एका दुई टोली नेपाल र भाल्दिभ्सबीचको थियो ।
सेमिफाईनल पुग्न दुवै टोली ‘गर वा मर’को अवस्थामा थिए । दुवै टोलीले अघिल्लो खेल किर्गिस्तानसंग हारेका थिए ।
माल्दिभ्सलाई सरप्राईज टोली मानिएको थियो । नेपाल घरेलु टोली थियो ।
दर्शकको साथ र विगत चार महिनाको निरन्तर अभ्यासले नेपालको लक्ष्य फाईनल खेल्नु थियो ।
चुनौती त थियो । तर नेपाली टिमको आत्मविश्वासले चुनौतीलाई थिचेर राखेको थियो ।
उद्घाटन खेलमा किर्गिस्तानसंग हारेपछि नेपालले अन्तिम खेलमा माल्दिभ्सलाई हराउनुपर्ने अवस्थामा थियो । त्यही अवस्था माल्दिभ्सको थियो ।
नेपालले खेल कठिन हुने आँकलन गरेपनि माल्दिभ्सविरुद्व नतिजा आफ्नो पक्षमा पार्नेमा आत्मविश्वासी देखिन्थ्यो ।
बुधबार अपरान्ह जब खेल सुरु भयो । नेपालले एक पछि अर्को अंक गुमाउदै थियो । र संगै खेल समेत हातबाट गुम्दै गयो । माल्दिभ्सले लगातार दुई सेट जित्दै नेपाललाई दबाबमा पारिसकेको थियो ।
जब तेस्रो सेटमा नेपाल १६–८ ले पछाडी पर्यो । दर्शक दिर्घाबाट नारा घन्कियो, वि वान्ट माने अर्थात हामीलाई मानबहादुर चाहियो ।
जब नेपालले खेलको अन्तिम सेटमा गुमाउदै थियो । दर्शक तथा समर्थकहरु अझ चर्को स्वरमा मानबहादुर श्रेष्ठको नाममा नाराबाजी गरिरहेका थिए ।
उनीहरु एकै स्वरमा भनिएका थिए, मानबहादुर मैदानमा चाहियो ।
तर मानबहादुर मैदान उत्रने अवस्था थिएन, उनी दर्शकदिर्घाबाट खेल हेरिरहेका थिए ।
अब दर्शकले आफ्नो नाम लिए, उनी नर्भस जस्तै भए ।
आत्मसमर्पणको भावमा आफ्ना दुई आँखा मैदानतर्फ डुलाईरहे ।
राष्ट्रिय भलिबल टिमका उपकप्तान तथा स्पाईकर मानबहादुर नेपाल टिमका महत्वपुर्ण सदस्य हुन् । आठौं राष्ट्रिय खेलकुद नखेलेको भन्दै उनलाई टिम बाहिर राखिएको थियो । जापानमा व्यवसायीक भलिबल खेल्न जादाँ उनले राष्ट्रिय खेलकुद गुमाएका थिए ।
त्यही कारण देखाउँदै नेपाल भलिबल संघले मानबहादुरलाई राष्ट्रिय टिम बाहिर राख्यो ।
संघले पो मानबहादुरलाई टिम बाहिर राख्यो । तर बुधबारको खेलमा दर्शकले मानबहादुरको नाममा आर्मीको कभर्डहल गुन्जयमान बनाए ।
मानबहादुर भए खेल जित्ने आशा दर्शकले गरेका थिए ।
के उनलाई टिम बाहिर राख्नेले त्यो महशुश गरे होलान् ?