काठमाडौं । नेपाल एसियन भलिबल कन्फेडेरेसन (एभिसी) सेन्ट्रल जोन सिनियर पुरुष भलिबल प्रतियोगिताबाट बाहिरिएको छ ।
बुधबार भएको समूह चरणको अन्तिम खेलमा माल्दिभ्ससँग ३-० को सोझो सेटमा पराजित हुँदै नेपाल प्रतियोगिताबाट बाहिरिएको हो ।
लगनखेलस्थित त्रिभुवन आर्मी क्लबको शारीरिक तालिम तथा प्रशिक्षण केन्द्रको कभर्डहलमा नेपाल माल्दिभ्सविरुद्ध तीनै सेटमा कमजोर देखिएको थियो ।
घरेलु कोर्टमा खराब प्रदर्शन गरेको नेपाललाई माल्दिभ्सले २५-२२, २५-२१ र २५-१४ को सेटमा पराजित गर्यो ।
माल्दिभ्ससँगको हारसँगै समूह 'ए' बाट नेपाल जितविहीन बन्दै प्रतियोगिताबाट बाहिरिएको छ । नेपालले अंक जोड्न सकेन । अब नेपालले पाँचौ स्थानको लागि समूह 'बी' को तेस्रो हुने टोलीसंग खेल्नेछ ।
माल्दिभ्स भने समूहको उपविजेता बन्दै सेमिफाइनलमा प्रवेश गरेको छ । माल्दिभ्सले २ खेलमा २ अंक जोड्यो । माल्दिभ्सले अब सेमिफाइनलमा समूह 'बी' को विजेता उज्वेकिस्तानसँग खेल्नेछ ।
यस समूहबाट किर्गिस्तान २ खेलमा २ जितसहित ४ अंक जोडेर समूह विजेताको रुपमा सेमिफाइनल पुगिसकेको छ ।
पहिलो खेलमा किर्गिस्तानले नेपाललाई ३-० को सोझो सेटमा हराएको थियो । दोस्रो खेलमा किर्गिस्तानले माल्दिभ्सलाई हराएको थियो ।