काठमाडौं । एभिसी सेन्ट्रल जोन पुरुष भलिबल प्रतियोगितामा आज (बुधबार) तीन खेल हुदैछ ।
ललितपुरको लगनखेलस्थित आर्मीको कभर्डहलमा हुने दिनको दोस्रो खेलमा नेपाल र माल्दिभ्स भिड्नेछन् । नेपाल र माल्दिभ्सबीच खेल बेलुका पाँच बजे सुरु हुनेछ ।
नेपाललाई अघिल्लो चरण पुग्न माल्दिभ्सलाई हराउनै पर्ने समिकरण तय भएको छ । विजेता टिमले सेमिफाईनलको यात्रा तय गर्नेछ । दुवै टोली प्रतियोगितामा जित विहिन छन् । समूह 'ए' को पहिलो खेलमा दुवै टिम किर्गिस्तानसंग पराजित भएका थिए ।
उद्घाटन खेलमा घरेलु टोली र मंगलबार भएको खेलमा माल्दिभ्स टोलीलाई हराउँदै किर्गिस्तान अन्तिम ४ मा प्रवेश गरिसकेको छ ।
समूह 'ए' बाट अघिल्लो चरण पुग्ने एक टोलीको टुङ्गो लाग्न बाँकी छ । नेपाल र माल्दिभ्सबीचको विजेता टोलीले सेमिफाईनलमा स्थान बनाउनेछ । सोही कारण अघिल्लो चरणको यात्रा तय गर्न घरेलु टोलीलाई जित निर्विकल्प छ ।
बुधबारनै हुने दिनको पहिलो खेलमा समूह 'बी'बाट उज्वेकिस्तान र अफगानिस्तान भिड्नेछन् । खेल दिउँसो ३ बजे सुरु हुने बताईएको छ ।
सेमिफाईनलका नजिक पुगेको उज्वेकिस्तान जित निकाल्दै सतप्रतिशत नतिजा आत्मसात गर्न चाहन्छ ।
उज्वेकिस्तानले यसअघि तुर्कमेनिस्तान र बंगलादेशलाई हराएको थियो । अघिल्लो चरण प्रवेश यात्रा सहज बनाउन अफगानिस्तानलाई समेत बलियो प्रतिद्वन्दीविरुद्व जित निकाल्न आवश्यक छ ।
दिनको अन्तिम खेलमा साँझ ७ बजे तुर्केमेनिस्तान र बंगलादेश खेल्नेछन् । अघिल्लो चरण प्रवेशको गणितिय सम्भावना बाँकी राख्न तुर्केमेनिस्तानलाई जित आवश्यक छ । पहिलो खेलमा तुर्केमेनिस्तानले अफगानिस्तानलाई हराएको थियो भने बंगलादेश भने उज्वेकिस्तानसंग हार व्यहोरेको थियो ।
बगलादेशलाई समेत अघिल्लो चरण प्रवेशको गणितिय सम्भावना जिवित राख्न तुर्केमेनिस्तानविरुद्व अप्रत्यासित जित निकाल्न आवश्यक छ ।
समूह 'बी' मा शीर्ष स्थानको उज्वेकिस्तानको ४ अक छ । तुर्केमेनिस्तान र अफगानिस्तान समान एक खेलमा जित निकाल्दै २ अंक जोडेका छन् । बंगलादेश अंक हुदै तालिकाको पुछारमा छ ।