काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप) का निमित्त सदस्य–सचिव राजेशकुमार गुरुङले राष्ट्रिय टिमका तेक्वान्दो खेलाडी भुपेन्द्र श्रेष्ठलाई मंगलबार उपचार खर्च प्रदान गरेका छन् ।
निमित्त सदस्य–सचिवको कार्यभार सम्हालेको पहिलो दिन १३ औं दक्षिण एसियाली खेलकुद (साग) को प्रशिक्षणमा रहेका कराते र तेक्वान्दो खेलाडीको तयारी बारे बुझ्न सातदोबाटो पुगेका निमित्त सदस्य–सचिव गुरुङले घुँडाको एमआरआई गर्दा खर्च भएको ११ हजार रुपैयाँ भुपेन्द्रलाई प्रदान गरेका हुन् ।
तेक्वान्दो प्रशिक्षक दीपक विष्टले भुपेन्द्रको उपचार खर्चको भुक्तानी प्रक्रियामा रहेको जानकारी दिए ।
खेलाडीसंगको भेटमा निमित्त सदस्य–सचिव गुरुङले खेलाडीलाई १३ औं सागमा राष्ट्रलाई बढी भन्दा बढी पदक दिलाउनका निम्ति मेहनत गर्न आग्रह गरे ।
राखेपका सदस्य सचिव रमेशकुमार सिलवाल १३ औं सागकै सिलसिलामा मंगलबार चीन प्रस्थान गरेकाले अर्को व्यवस्था नभएसम्मका लागि सदस्य गुरुङलाई निमित्त सदस्य–सचिवको जिम्मेवारी दिइएको हो ।