काठमाडौं । नेपाली राष्ट्रिय भलिबल टिमका प्रशिक्षक हान एबिङले खेलाडीले भावनात्मक रुपमा खेल खेल्न नसकेको बताएका छन् ।
एभिसी सेन्ट्रल जोन पुरुष भलिबल प्रतियोगिताको उद्घाटन खेलमा कीर्गिस्तानसँग पराजित भएपछि नेपाली टिमका डच प्रशिक्षकले सो कुरा बताएका हुन् ।
नेपाल पहिलो खेलमा कीर्गिस्तानसंग ३-० को सोझो सेटमा पराजित भएको थियो । हारसँगै नेपालको अघिल्लो चरण प्रवेशको सम्भावना कठिन बनेको छ ।
मुख्य प्रशिक्षकले एबिङले कीर्गिस्तान राम्रो टिम रहेको उल्लेख गर्दै खेललाई उनीहरुले नियन्त्रणमा लिएर खेलेको बताए ।
‘नेपालको प्रर्दशनबाट सन्तुष्ट छैन ।’ डच प्रशिक्षक एबिङले भने, ‘अफगानिस्तानसंग यसअघि मैत्रीपूर्ण खेलमा जसरी खेलेका थियौ, त्यो स्तरको प्रर्दशन खेलाडीबाट हुन सकेन ।’
‘हाम्रो खेलाडी भन्दा उनीहरु अग्ला थिए । उनीहरुको सर्ट राम्रो छ । उनीहरु हामी भन्दा धेरै माथि उफ्रिन्थे । त्यसैले हाम्रो ब्लक राम्रो देखिएन । जुन उनीहरुको विशेषता हो ।’ एबिङले खेलपछि प्रतिक्रिया दिए ।
पहिलो खेलमा पराजित भएपछि नेपालको सेमिफाईनल पुग्ने समिकरण कठिन बनेको छ । लिग चरणको अन्तिम खेलमा नेपालले माल्दिभ्सलाई पराजित गर्नै पर्ने दबाब छ ।
प्रशिक्षक एबिङले नेपालले भावनात्मक रुपमा खेल्न नसकेको अभिब्यक्ती दोहोर्याए ।
‘खेलमा अंकको पिर गर्नु हुँदैन । खेलाडी खेलमा रमाउनु पर्छ । समर्थक जस्तो खेलाडीले भावनात्मक रुपमा कराउने, हाउभाउ गर्न जरुरी छ ।’ उनले भने ।
प्रशिक्षक एबिङले लिग चरणको अन्तिम खेलमा भावनात्मक रुपमा एकजुट हुने कोशिश गरिने बताए ।
‘हामी पहिलो खेलको समिक्षा गर्नेछौ । भोली अभ्यास हुनेछ । अर्का खेलमा भावनात्मक हुने कोशिस गर्ने छौ । उनीहरु हामीलाई हराउन सक्दो कोशिश गर्ने छन् । पक्कै पनि खेल प्रतिस्पर्धात्मक हुने ।’ उनले थपे ।