काठमाडौं । घरेलु मैदानमा आयोजना हुने एसियन भलिबल कन्फेडेरेसन (एभिसी) सेन्ट्रल जोन सिनियर पुरुष भलिबल प्रतियोगिताको पहिलो खेलमा नेपालले सोमबार बलियो टोली किर्गिस्तानको सामना गर्दैछ ।
लगनखेलस्थित त्रिभुवन आर्मी क्लबको शारीरिक तालिम तथा प्रशिक्षण केन्द्रको कवर्डहलमा नेपालले किर्गिस्तानको सामना गर्नेछ । प्रतियोगिताको उद्घाटन खेलको रुपमा रहेको नेपाल र किर्गिस्तानबीचको खेल नेपाली समय अनुसार अपरान्ह ४ बजेपछि सुरु हुनेछ ।
घरेलु कोर्ट र घरेलु समर्थकको साथ पाउने नेपाली टिम बलियो टिम किर्गिस्तानलाई पराजित गर्दै सुखद सुरुवात गर्ने योजनामा हुनेछ ।
नेपालका लागि यस खेल निकै महत्वपूर्ण पनि रहेको छ । प्रतियोगिताको सेमिफाइनलमा पुग्ने लक्ष्य बनाएको नेपाललाई पहिलो खेल जित्नै पर्ने दबाब पनि छ ।
समूह 'ए' मा रहेको नेपालले पहिलो खेल जिते सेमिफाइनल पुग्ने आधार बलियो हुनेछ । यस समूहमा अर्को बलियो टिम माल्दिभ्स समेत रहेको छ ।
तर, दुई मैत्रीपूर्ण खेलमा जित निकालेको नेपाली टिम उच्च मनोबलका साथ प्रतिस्पर्धामा उत्रनेछ । प्रतियोगिताको पूर्व सन्ध्यामा नेपालले अफगानिस्तानसँगको दुई मैत्रीपूर्ण खेल जितेको थियो ।
पहिलो खेलमा प्रशिक्षक हान एविङले टोलीको रिसिभ र ब्लकमा सुधार गर्नेछन् । यस्तै अफगानिस्तानसँगको खेलमा चोट बोकेका कप्तान इम बहादुर राना र धनबहादुर भट्ट टिममा फर्कने छन् ।
यद्दपी, बलियो टिम किर्गिस्तानविरुद्ध नेपाल शतर्क रहेर खेल्नेछ । किनकि किर्गिस्तान घरेलु टिमलाई स्तब्ध बनाएर सेमिफाइनल पुग्ने लक्ष्यमा हुनेछ ।
यस्तै उद्घाटन खेलअघि समूह 'बी' मा रहेका दुई टोली तुर्किमिनिस्तान र अफगानिस्तानले प्रतिस्पर्धा गर्नेछन् ।
समूह 'बी' मा तुर्केमिनिस्तान, बंगलादेश,उज्वेकिस्तान र अफगानिस्तान रहेका छन् ।