काठमाडौं । दक्षिण एसियाली खेलकुद (साग) को १३ औं संस्करण नजिकै आईसकेको छ । र, नेपालबाट सुरु भएको सागको यस संस्करण नेपालमै आयोजना हुँदैछ ।
नेपालले १३ औं सागको मिति मंसिर १५ देखि २४ गतेसम्म काठमाडौं र पोखरामा सञ्चालन हुदैछ । नेपालले तेस्रो पटक साग खेलकुद आयोजना गर्न लागेको हो । यसअघि नेपालले सन् १९९९ मा दोस्रो पटक साग खेलकुद सफलता पूर्वक सम्पन्न गरिसकेको छ ।
साग खेलकुदमा जन्मदाता भएपनि नेपालले सागमा ठुलो उपलब्धि भने हासिल गर्न सकिरहेको छैन । इतिहास हेर्ने हो भने नेपालमात्र हैन अन्य साग राष्ट्रको समेत अवस्था उस्तै छ ।
सागको १२ औं संस्करण सकिदा भारतले मात्र पदक तालिकामा राज गरिरहेको छ । अर्थात्, सागको १२ वटै संस्करणमा भारत टिम च्याम्पियन बनेको छ ।
सागको १३ औं संस्करण सकिदा नेपालले कुल ७९ स्वर्ण, १२२ रजत र २७२ काँस्यगरी कुल ४७३ पदक जितेको छ ।
साग इतिहासमा नेपालले मात्र एक पटक उच्च स्थान हासिल गरेको छ, तालिकाको दोस्रो स्थानमा रहेर । त्यसबाहेक नेपाल तेस्रो समेत भएको छैन ।
तर, नेपाल घरेलु भूमिमा आयोजना हुने १३ औं सागमा कीर्तिमान प्रदर्शनको लक्ष्यमा रहेको छ । नेपालले सागमा धरै भन्दा धेरै पदक ल्याउन सहभागी सबै खेलको तयारी तीव्र गतिमा अघि बढाएको छ ।
सागमा नेपालले पाएको त्यो सफलता -
नेपालले उच्च सफलता हासिल गरेको आठौं संस्करणको सागमा हो । सन् १९९९ को सेप्टेम्बर २५ देखि अक्टोबर ४ सम्म घरेलु भूमिमा भएको सागमा नेपालले उक्त सफलता हासिल गरेको थियो ।
साग इतिहासमै नेपालले सर्वाधिक स्वर्ण पदक जितेको त्यो नै पहिलो हो । आठौं सागमा नेपालले ३१ स्वर्ण जितेको थियो । र, नेपाल भारतलाई पछ्याउदै दोस्रो भएको थियो ।
आठौं सागमा नेपालले ३१ स्वर्णसहित १० रजत र २४ कास्यसहित कुल ६५ पदक जितेको थियो । टिम च्याम्पियन बनेको भारतले १०२ स्वर्णसहित कुल १९७ पदक जितेको थियो ।
नेपालको त्यो सफलताको श्रेय तेक्वान्दो र कराँतेलाई जान्छ । उक्त संस्करणमा समावेश १२ खेलमध्ये तेक्वान्दो र कराँते पहिलो पटक समावेश गरिएको थियो ।
आठौं सागमा एथलेटिक्स, पौडी, फुटबल, बक्सिङ, भारोत्तोलन, कपर्दी, कुस्ती, टेबलटेनिस, भलिबल, सुटिङ, कराँते र तेक्वान्दो खेल समावेश गरिएको थियो ।
कराँते पुरुषको व्यक्तिगततर्फ स्वर्ण जित्नेमा रवि महर्जन, दिपक श्रेष्ठ , ध्वजमान मोक्तान , राजेश श्रेष्ठ, कृष्ण गुरुङ, गंगा महर्जन रहेका थिए । यस्तै पुरुष टिम कातामा नेपालले स्वर्ण जितेको थियो । कराँतेमा रजत ल्याउने एक मात्र खेलाडी दुर्गालाल निरौला थिए ।
कराँते महिलातर्फ नीता राई, मीना पाठक, जुनु राई, बिनिता चौधरी, प्रीति डंगोलले स्वर्ण जितेकी थिईन । महिला टिम कातामा पनि नेपालले स्वर्ण जितेको थियो ।
यस्तै तेक्वान्दो पुरुषमा नेपालका दिपक विष्ट, किशोर श्रेष्ठ, अशोककुमार लामा, कोसिस खड्का, कमलबहादुर विष्ट, उज्जवल थपलिया र राजकुमार राईले स्वर्ण जितेका थिए । प्रमोद मानन्धरले रजतमा चित्त बुझाएका थिए ।
तेक्वान्दो महिलातर्फ सीता राई, संगीना वैद्य,रेणुका मगर, सबिता राज भण्डारी, बन्दना श्रेष्ठ, प्रमिला थापा र रितु राईले स्वर्ण हात पारेका थिए । मञ्जु तुलाधरले रजत जितेकी थिईन् ।
बक्सिङतर्फ रामचन्द्र थापा र प्रकाश थापाले स्वर्ण जितेका थिए । रमेश श्रेष्ठ, हरी बहादुर कैसे, प्रेमकृष्ण महर्जन, राजन डंगोल र रामकुमारले रजत जितेका थिए । इन्द्र बहादुर राना र निमा तिताङले काँस्य जितेका थिए ।
एथलेटिक्समा नेपालले १ रजत र ५ काँस्य जित्यो । ज्ञानबहादुर बोहराले पुरुष ५ हजार दौडमा रजत जिते । काँस्य जित्नेमा यामबहादुर पुडासैनी १० हजार मिटर दौड, गाणेश बहादुर म्याराथन र खर्सिद अहमद खान ज्याभालिन थ्रोमा रहेका थिए । यस्तै नेपाली महिला टोलीले ४ गुणा सय र ४ गुणा ४ सय मिटर रिलेमा २ काँस्य जितेको थियो ।
फुटबलको फाइनलमा नेपाल बंगलादेशसँग १–० ले परेजित हुँदा रजतमा चित्त बुझाउनु परेको थियो । महिला भलिबलतर्फ नेपालले काँस्य जितेको थियो ।
सुटिङमा नेपालको पुरुष टिमले १० मिटर एयर राइफल्स र १० मिटर एयर पिस्टोलमा काँस्य जितेको थियो । महिला टिमले पनि १० मिटर एयर पिस्टोलमा काँस्य जितेको थियो ।
पौडीतर्फ नेपालले १ स्वर्ण र १ काँस्य जितेको थियो । महिला ४ गुणा सय मिटर मिडले रिलेमा नेपालले स्वर्ण जितेको थियो । पौडीको ४ गुणा २ सय मिटर फ्रीस्टाइलमा नेपालले काँस्य जितेको थियो ।
टेबल टेनिसमा नेपालले ३ काँस्यमा चित्त बुझायो । नेपालले पुरुष डबल्स, महिला डबल्स र मिक्स डबल्समा काँस्य जितेको थियो ।
कुस्तीमा नेपालका सोभि यादब, उपेन्द्र दास बैरागी,ब्राहिम देव यादब, राजु सरन यादब र धर्म राज यादबले काँस्य जितेका थिए ।
भारोत्तोलनतर्फ नेपालका राकेश रञ्जित, रोशन नकर्मी र मदन शिव भक्तिले काँस्य जितेका थिए ।