काठमाडौं । काठमाडौं । एभिसी सेन्ट्रल जोन भलिबल च्याम्पियनसिपमा प्रतिस्पर्धा गर्न बंगलादेशको टिम नेपाल आईपुगेको छ । नेपालमा पहिलो पटक आयोजना हुन लागेको एभिसी सेन्ट्रल जोनमा सहभागीता जनाउन बंगलादेशी टिम मध्यान्न १२ बजे नेपाल आईपुगेको हो ।
टिमलाई भलिबल संघकी उपाध्यक्ष निरोज मास्के, सचिव मनविर छत्याल सहितका सदस्यले स्वागत गरेका थिए ।
बंगलादेशी टिम होटल क्राउन प्लाजामा बस्नेछ । सोही होटलमा माल्दिभ्सको टिम समेत रहनेछ । माल्दिभ्सको टिम समेत बिहान काठमाडौं ओर्लिएको थियो ।
सात राष्ट्रले खेल्ने प्रतियोगितामा अफगानिस्तान टिम यसअघिनै नेपाल आईसकेको छ । अब कीर्गिस्तान र तुर्कीमिनिस्तान आजै राति काठमाडौं आउनेछन् । उज्वेकिस्तानको टिम भने आईतबार मात्र नेपाल आईपुग्नेछ ।
अफगानिस्तान टिमले नेपालको राष्ट्रिय भलिबल टिमसंग दुई मैत्रीपुर्ण म्याच समेत खेलेको थियो । दुवै खेलमा नेपाली टिम विजयी बनेको थियो ।
भदौ २ देखि भदौ ७ गतेसम्म संचालन हुने प्रतियोगितामा नेपालसहित बंगलादेश, माल्दिभ्स, अफगानिस्तान, किर्गिस्तान, तुर्किमिनिस्तान र उज्वेकिस्तान गरि ७ टोलीले प्रतिस्पर्धा गर्नेछन् ।