काठमाडौं । एफआईए ग्रासरुट अफिसियल्स ट्रेनिङमा सहभागीता जनाउन नेपाल अटोमोबाइल्स एसोसिएसन (नासा) को एक टोली भियतनाम प्रस्थान गरेका छन् ।
भियतनामको हानोई शहरमा अगष्ट १९ र २० गते आयोजना हुने ट्रेनिङमा सहभागिता जनाउन नासाको अफिसियल तथा मार्शलहरु बिहिबार त्यसतर्फ गएका हुन् ।
उक्त प्रशिक्षण कार्यक्रममा नासाका तर्फबाट महासचिव ई. आशिष गजुरेल, मार्शलहरु दयाराम न्यौपाने, दिपेश श्रेष्ठ, विनोद तण्डुकार, कमल न्यौपाने र अभिषेक लामिछानेले सहभागिता जनाउने छन् ।
नासाको टोलीलाई बिहिबार राखेपका उपाध्यक्ष पिताम्बर तिम्सिना, नासाका अध्यक्ष दशरथ रिसाल, उपाध्यक्ष मेघराज पौडेल लगायतले विदाई गरे ।
अष्ट्रेलियन मोटर स्पोर्ट्स कन्फेडेरेसन तथा भियतनाम मोटर्स स्पोर्ट्स एसोसियसनको आयोजनामा हुने प्रशिक्षणमा एशिया प्यासिफिक क्षेत्रका १० देशको सहभागिता रहनेछ । प्रशिक्षणमा इभेन्ट म्यानेजमेन्ट, इभेन्ट कमाण्ड, इभेन्ट प्रशासन, कोर्स डिजाइन, स्टेवार्डिङ, अफिशियल व्यवस्थापन लगायतका विषय समेटिने छन् ।