काठमाडौं । नेपाली राष्ट्रिय पुरुष भलिबल टिमले अहिले अफगानिस्तानविरुद्ध दोस्रो मैत्रीपूर्ण खेल खेलिरहेको छ ।
लगनखेलस्थित सैनिक शारीरिक तालिम तथा खेलकुद केन्द्रमा नेपाल र अफगानिस्तानले प्रतिस्पर्धा गरिरहेको छ । तर, अफगानिस्तानविरुद्धको दोस्रो खेलमा नेपाल कप्तान ईम राना मगरबिना कोर्ट उत्रिएका छन् ।
पहिलो खेलमा चोट बोकेपछि ईमले दोस्रो खेल गुमाएका हुन् । नेपालको कप्तानी धनबहादुर भट्टले गरिरहेका छन् ।
लाइभ -
पहिलो खेलमा जित निकालेको नेपाल दोस्रो खेलमा पनि जितको लक्ष्यसहित कोर्ट उत्रिएका छन् । यता, अफगानिस्तान पहिलो जित निकाल्ने योजनामा हुनेछ । बुधबार भएको पहिलो खेलमा नेपालले अफगानिस्तानलाई ३–२ को सेटमा हराएको थियो ।
घरेलु मैदानमा आयोजना हुने एसियन भलिबल कन्फेडेरेसन (एभिसी) सेन्ट्रल जोन सिनियर पुरुष भलिबल प्रतियोगिताको तयारी स्वरुप नेपालले मैत्रीपूर्ण खेल खेल्न लागेको हो ।
एसियन भलिबल संघको संयोजनमा हुने प्रतियोगिता भदौ २ देखि भदौ ७ गतेसम्म संचालन हुनेछ ।
प्रतियोगितामा नेपालसहित बंगलादेश, माल्दिभ्स, अफगानिस्तान, किर्गिस्तान, तुर्किमिनिस्तान र उज्वेकिस्तानसहित ७ टोलीले प्रतिस्पर्धा गर्नेछन् ।