काठमाडौं । नेपालमा आयोजना हुने एसियन भलिबल कन्फेडेरेसन (एभिसी) सेन्ट्रल जोन सिनियर पुरुष भलिबल प्रतियोगितामा सहभागिता जनाउन अफगानिस्तानको राष्ट्रिय भलिबल टिम नेपाल आइपुगेको छ ।
अफगानी भलिबल टिम मंगलबार बिहान नेपाल आइपुगेको हो । अफगानी टिमलाई भलिबल संघका पदाधिकारीहरुले स्वागत गरेका थिए ।
नेपालको राष्ट्रिय टिमसँग दुई मैत्रीपूर्ण खेल खेल्नका लागि अफगानी टिम चाडै नेपाल आईपुगेको हो । अफगानिस्तानले बुधबार र बिहिबार नेपालसँग मैत्रीपूर्ण खेल खेल्दैछ ।
लगनखेलस्थित सैनिक शारीरिक तालिम तथा खेलकुद केन्द्रमा हुने प्रतियोगिता भदौ २ देखि भदौ ७ गतेसम्म संचालन हुनेछ ।
एसियन भलिबल संघको संयोजनमा हुने प्रतियोगितामा नेपालसहित बंगलादेश, माल्दिभ्स, अफगानिस्तान, किर्गिस्तान, तुर्किमिनिस्तान र उज्वेकिस्तानसहित ७ टोलीले प्रतिस्पर्धा गर्नेछन् ।
प्रतियोगिताको लागि मुख्य प्रशिक्षक हान एबिङले १४ सदस्सीय नेपाली टोलीको घोषणा गरिसकेका छन् ।