काठमाडौं । नेपालमा आयोजना हुने एसियन भलिबल कन्फेडेरेसन (एभिसी) सेन्ट्रल जोन सिनियर पुरुष भलिबल प्रतियोगिताको सम्पूर्ण तयारी पुरा भएको छ ।
नेपाल भलिबल संघले मंगलबार पत्रकार सम्मेलन गर्दै प्रतियोगिताको सम्पूर्ण तयारी पुरा भएको जनाएको छ । संघले विदेशी टिमलाई मध्य नजर गर्दै त्रिभुवन विमानस्थलमै हेल्प डेक्स स्थापना गरिएको जनाएको छ ।
संघका महासचिव जितेन्द्र बहादुर चन्दले प्रतियोगिताको तयारी सकिएको जानकारी दिदै अफगानिस्तान नेपाल आईसकेको र अन्य टिम केहि दिन भित्र नेपाल आइपुग्ने जानकारी गराए ।
यस्तै संघले प्रतियोगिता हेर्न आउने दर्शकलाई टिकटको शुल्क नलाग्ने जानकारी गराएको छ । तर, संघले आवश्यकता अनुसार मात्र समर्थकलाई भित्र पस्न दिने जनाएको छ ।
लगनखेलस्थित सैनिक शारीरिक तालिम तथा खेलकुद केन्द्रमा हुने प्रतियोगिता भदौ २ देखि भदौ ७ गतेसम्म संचालन हुनेछ ।
एसियन भलिबल संघको संयोजनमा हुने प्रतियोगितामा नेपालसहित बंगलादेश, माल्दिभ्स, अफगानिस्तान, किर्गिस्तान, तुर्किमिनिस्तान र उज्वेकिस्तानसहित ७ टोलीले प्रतिस्पर्धा गर्नेछन् ।
प्रतियोगिताको खेल तालिका भने टेक्निकल टिमको बैठकपछि केहि दिनमा सार्वजनिक गरिने संघले जनाएको छ।
प्रतियोगिताको लागि मुख्य प्रशिक्षक हान एबिङले १४ सदस्सीय नेपाली टोलीको घोषणा गरिसकेका छन् । यस्तै नेपालले प्रतियोगिताको लागि अफगानिस्तानसँग साउन ३० र ३१ मैत्रीपूर्ण खेल खेल्ने छ ।
नेपाली टिम :
ईम बहादुर राना मगर (कप्तान)
कुलबहादुर थापा (उपकप्तान)
दिपक राज जोशी
धनबहादुर भट्ट
विशाल विक
राजेन्द्र विष्ट
टेकराज अवस्थी
हरिबहादुर अधिकारी
दुर्गा बहादुर खड्का
नरेन्द्र गिरी
ईश्वर थापा मगर
राजकुमार निरौला
हरिहजुर थापा
विनोद बहादुर चन्द