काठमाडौं । राष्ट्रिय टिम चेस च्याम्पियनसिपका लागि रुकुम चेस क्लबले पाँच खेलाडीलाई अनुबन्ध गरेको छ ।
तुलसी स्मृती प्रतिष्ठानले आयोजना गर्ने च्याम्पियनसिपका लागि रुकुम चेस क्लबले आइतबार पाँच खेलाडी अनुबन्ध गरेको हो ।
क्लबले अनुबन्ध गरेको खेलाडीमा मिलन लामा, सुस्रुत दाहाल, विवेक श्रेष्ठ, युवराज पौडेल र मिलन रोक्का रहेका छन् । खेलाडीहरुलाई क्लबका संयोजक तथा अन्तराष्ट्रिय आर्विटर एवं राष्ट्रिय ईन्ष्ट्रक्टर बालाराम पुनले आईतबार एक कार्यक्रमबीच खेलाडीहरुलाई अनुबन्ध पत्र हस्तान्तरण गरे ।
चेस खेलमा उत्कृष्ट, अनुशासित तथा शिक्षित खेलाडीका रुपमा गनिएका खेलाडी मध्येका मिलन लामा अन्तराष्ट्रिय रेटिङ्गमा २०३४ मा रहेका छन् । उनी यू– १० का च्याम्पियन रहनुका साथै सहकारी चेस च्याम्पियनका उपविजेता समेत रहेका छन् ।
यस्तै हालै पूर्वमा भएको पथरी ओपन विजेता रहेका सुस्रुत दाहाल १८१९ रेटिङ्गमा रहेका छन् । गत साल भएको टिम च्याम्पियनमा सनसनीपूर्ण खेल प्रस्तुत गरेका विेवक श्रेष्ठ १८४४, यु – १६ उपविजेता भई २०१७ का ओलम्पियाडमा सहभागी भईसकेका युवराज पौडेल १६६३, तथा मध्यपश्चिमका विजेता भईसकेका रुकुमका पहिलो खेलाडीमा गनिएका मिलन रोक्का १७६६ रेटिङ्गमा रहेका छन् ।
खेलाडीहरुलाई अनुवन्ध पत्र प्रदान गर्दै संयोजक पुनले नेपालको चेस खेलमा अनुशासित तथा उच्च स्तरका खेलाडीहरुलाई क्लबमा अनुबन्ध गर्न पाउँदा आफुलाई निकैनै खुसी लागेको बताए ।