काठमाडौं । एपीएफका बिजय थापा र बलिराम चौधरीको जोडीले पाँचौं सेब टु ए साइड पुरुष भलिबल प्रतियोगिताको उपाधि जितेका छन् ।
शनिबार भएको फाईनलमा बिजय र बलिरामको जोडीले आयोजक ढोरपाटन भलिबल क्लबका मनवीर छन्त्याल र सोभित रानामगरलाई २२–२० र २१–१७ को सोझो सेटमा हराउदै च्याम्पियन बनेका हुन् ।
उपाधिसँगै बिजय र बलिरामको जोडीले १ लाख नगद प्राप्त गरे । उपविजेता जोडीले ५० हजारमा चित्त बुझाए ।
उपाधि बिजेता एपीएफका बिजय थापा सर्वोत्कृष्ट खेलाडी बने । यस्तै उपबिजेता टिमका सोभित रानामगरले बेष्ट डिफेन्सको उपाधि हात पारे ।
सामाखुशी इङलिस बोर्डिङ स्कुल (सेब) को मुख्य प्रायोजनमा नयाँ बसपार्क स्थित आयोजक ढोरपाटन भलिबल क्लबको कोर्टमा तेश्रो स्थानका लागि भएको खेलमा बागलुङका प्रकाश बिसि र तिलक कुवारले बाँजी मारे । तेश्रो र चौथो हुने जोडीले क्रमशः २५ हजार र १० हजार नगद पुरस्कार प्राप्त गरे ।
तीन दिने प्रतियोगिताका बिजेता जोडिलाई मुख्य प्रायोजक सेब स्कुलका संस्थापक प्रिन्सिपल युवराज थापा, संस्थापक निर्देशक मधुमाया थापा, आयोजक ढोरपाटन भलिबल क्लबका उपाध्यक्ष किरण घायललगायतले पुरस्कृत गरेका थिए ।
प्रतियोगितामा ६४ टिमको सहभागिता रहेको थियो ।