काठमाडौं । थाइल्यान्डको बैंककमा हुने ३४ औं थाइ किङ्स कप विश्व च्याम्पियनसिपमा नेपालले सहभागिता जनाउने भएको छ ।
अगष्ट २४ देखि सेप्टेम्बर १ तारिखसम्म बैंककको फेसन आइल्यान्डमा हुने प्रतियोगितामा नेपाली पुरुष टोलीले रेगु र डबल्समा प्रतिस्पर्धा गर्ने छन् । खेलाडीमा अनिल गुरुङ (कप्तान), रोशन तामाङ, रविन भट्टराई, विजय महतो र विपिन थनेट रहेका छन् ।
प्रशिक्षकमा शिवबहादुर राना र रोशन थापा मगर, व्यवस्थापकमा नेसिर मास्के, अफिसियलमा ध्रुवबहादुर गुरुङ र सीता सुवेदी तथा निर्णायकमा मेघराज तोलङ्गी र कल्पनाकुमारी चौधरी छन् । टोली अगष्ट २३ तारिखमा बैंकक जाने छ ।
नेपाली सेपाकताक्रो टोलीलाई शुक्रबार बिदाइ गरिएको छ । राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव रमेशकुमार सिलवालले टोलीलाई बिदाइ गरे ।