काठमाडौं । नेपालको राष्ट्रिय पुरुष राष्ट्रिय भलिबल टिमले अफगानिस्तानसँग दुई मैत्रीपूर्ण खेल खेल्ने भएको छ ।
नेपालमा आयोजना हुने एसियन भलिबल कन्फेडेरेसन (एभिसी) सेन्ट्रल जोन सिनियर पुरुष भलिबल प्रतियोगिता अघि नेपालले अफगानिस्तानसँग अभ्यास खेल खेल्ने भएको हो ।
नेपाल भलिबल संघले समाजिक संजाल फेसबुकबाट नेपालले अफगानिस्तानसँग आगामी साउन ३० र ३१ मैत्रीपूर्ण खेल खेल्ने जनाएको छ । एभिसी सेन्ट्रल जोन भदौ २ देखि ७ गतेसम्म संचालन हुनेछ ।
प्रतियोगितामा नेपालसहित बंगलादेश, माल्दिभ्स, अफगानिस्तान, किर्गिस्तान, तुर्किमिनिस्तान र उज्वेकिस्तानसहित ७ टोलीले प्रतिस्पर्धा गर्नेछन् ।
प्रतियोगिताका लागि नेपालले राष्ट्रिय टिमको घोषणा गरिसकेको छ । टिममा तीन नयाँ खेलाडी अटाएका छन् ।