काठमाडौं । तेस्रो संस्करणको नेपाल स्ट्रोङगेष्ट सुनिल लाल जोशी स्मृति भारोत्तोलन प्रतियोगिता अर्को साता आयोजना हुने भएको छ ।
आयोजक काठमाडौं जिल्ला भारोत्तोलन संघले बुधबार पत्रकार सम्मेलन गर्दै तेस्रो संस्करणको प्रतियोगिता साउन २८ र २९ गते हुने जानकारी गराएको छ ।
नेपाल भारोत्तोलन संघका पुर्व अध्यक्ष सुनिल लाल जोशीको तेस्रो स्मृति दिवसको अवसरमा हुने प्रतियोगितामा विभिन्न तौल समूहमा करिब ९० खेलाडीको सहभागिता रहने आयोजकले जनाएको छ । प्रतियोगितामा विभागीय टिम,जिल्ला र क्लबका खेलाडीले प्रतिस्पर्धा गर्ने छन् ।
काठमाडौंको मरुहिटि ब्याक्वेटमा हुने प्रतियोगितामा सिनियर महिला र पुरुषतर्फ १०/१० तौल समूह, जुनियर महिला र पुरुषमा समान १०/१० तौल समूह गरि ४० तौल समूहमा प्रतिस्पर्धा हुनेछ ।
प्रतियोगितामा महिला र पुरुषतर्फ सबैभन्दा बलियो (बढी भार बहन गर्ने) खेलाडीलाई नेपाल स्ट्रङगेष्ट उपाधिसहित ११ हजार नगद प्रदान गरिने छ । यस्तै राष्ट्रिय कीर्तिमान बनाउने खेलाडीलाई पनि नगद पुरस्कार दिईने आयोजकले जनाएको छ ।
त्यसबाहेक उत्कृष्ट महिला र पुरुष खेलाडीलाई 'बेष्ट लिफ्टर' को ट्रफी प्रदान गरिने छन् । त्यस्तै हरेक समूहको विजेता, उपविजेता र तेस्रो हुनेले पदक पाउने छन् ।
प्रतियोगितामा सहभागी हुन बाहिर जिल्लाबाट आएका खेलाडी तथा प्रशिक्षकलाई खाना र बस्नको ब्यवस्था आयोजकले गर्ने भएको छ ।
नेपालमा भारोत्तोलनको विकास र प्रवर्दनका लागि प्रतियोगिताको आयोजना गर्ने गरेको काठमाडौं जिल्ला भारोत्तोलन संघका अध्यक्ष बिजेन्द्र बिक्रम शाहले जानकारी दिए ।