काठमाडौं । एसियन भलिबल कन्फेडेरेसन (एभिसी) सेन्ट्रल जोन सिनियर पुरुष भलिबल प्रतियोगिताका लागि बन्द प्रशिक्षणमा रहेका १८ सदस्सीय खेलाडीबाट दुई खेलाडी बाहिरिएका छन् ।
नेपालमा आयोजना हुने प्रतियोगिताका लागि बन्द प्रशिक्षणमा रहेका १८ खेलाडीबाट राजु शेरचन र दुर्गा महतो टिमबाट बाहिरिएका हुन् । नेपाल पुलिस क्लबका राजु र त्रिभुवन आर्मी क्लबका दुर्गा दुवै लिफ्टर हुन् । दुवै खेलाडीले राष्ट्रिय टिमबाट खेलिसकेका छन् ।
यसअघि नेपाली टोलीका मुख्य प्रशिक्षक नेदरल्याण्ड्सका हान एबिङले दोस्रो चरणमा २५ खेलाडीबाट १८ सदस्सीय टिम छनोट गरेका थिए । तेस्रो चरणमा दुई खेलाडी बाहिरिएसँगै बन्द प्रशिक्षणमा अब १६ खेलाडी रहेका छन् ।
नेपाली टोलीको अन्तिम घोषणा भने आइतबार हुनेछ । अब नेपालले थप दुई खेलाडी निकाल्दै एभिसी सेन्ट्रल जोन खेल्ने १४ सदस्सीय टिमको घोषणा गर्नेछ ।
एसियन भलिबल संघको संयोजनमा आयोजना हुने सेन्ट्रल जोनमा नेपालसहित बंगलादेश, माल्दिभ्स, अफगानिस्तान, किर्गिस्तान, तुर्किमिनिस्तान र उज्वेकिस्तानसहित ७ टोलीले प्रतिस्पर्धा गर्नेछन् ।
प्रतियोगिता भदौ २ देखि भदौ ७ गतेसम्म संचालन हुनेछ ।
१६ सदसीय नेपाली टिम :
ईम बहादुर राना मगर, कुलबहादुर थापा, द्वारिका थापा, दिपक राज जोशी, धनबहादुर भट्ट, विशाल विक, राजेन्द्र विष्ट, टेकराज अवस्थी, सारान समरी, हरिबहादुर अधिकारी, दुर्गा खड्का, नरेन्द्र गिरी, इश्वर थापा मगर, राजकुमार निरौला, हरिहजुर थापा, विनोद बहादुर चन्द