काठमाडौं । एसियन भलिबल कन्फेडेरेसन (एभिसी) सेन्ट्रल जोन सिनियर पुरुष भलिबल प्रतियोगिताका लागि नेपालले आइतबार राष्ट्रिय टोलीको घोषणा गर्ने भएको छ ।
घरेलु मैदानमा आयोजना हुने प्रतियोगिताका लागि नेपालले बन्द प्रशिक्षणमा रहेका टोलीबाट आइतबार १४ सदस्सीय टोलीको घोषणा गर्नेछ ।
बन्द प्रशिक्षणमा अहिले १८ खेलाडी रहेका छन् । जसबाट चार खेलाडी बाहिरिने छन् । गत असारमा २५ खेलाडीबाट नेपालले १८ खेलाडी छनोट गरेको थियो ।
घरेलु भूमिमा हुने प्रतियोगितामा नियमित सदस्य मान बहादुर श्रेष्ठ हुने छैनन् । विभागीय टिम आर्मीको कारबाहीमा परेपछि आठौं राष्ट्रिय खेलकुद नखेलेको कारण मान प्रारम्भिक टोलीमै परेका थिएनन् ।
नेपाली टोलीलाई नेदरल्याण्ड्सका प्रशिक्षक हान एबिङले प्रशिक्षण दिईरहेका छन् । एभिसी सेन्ट्रल जोनका लागि नेपालले डच प्रशिक्षक एबिङलाई ल्याएको हो ।
मुख्य प्रशिक्षक एबिङसँगै नेपाली टोली हेरिरहेका प्रशिक्षक जगदीश भट्टले नेपालले अन्तिम तयारी गरिरहेको बताउँदै टिमको घोषणा साउन २६ गते हुने खेलपाटीलाई जानकारी गराए ।
'टिम छनोट अन्तिम चरणमा पुगेको छ । आइतबार हामीले टिमको घोषणा गर्ने कार्यक्रम राखेका छौं,' भट्टले खेलपाटीसँग भने ।
एसियन भलिबल संघको संयोजनमा आयोजना हुने सेन्ट्रल जोनमा नेपालसहित बंगलादेश, माल्दिभ्स, अफगानिस्तान, किर्गिस्तान, तुर्किमिनिस्तान र उज्वेकिस्तानसहित ७ टोलीले प्रतिस्पर्धा गर्नेछन् ।
प्रतियोगिता भदौ २ देखि भदौ ७ गतेसम्म संचालन हुनेछ ।
१८ सदसीय नेपाली टिम :
ईम बहादुर राना मगर, कुलबहादुर थापा,द्वारिका थापा, दिपक राज जोशी,धनबहादुर भट्ट,विशाल विक,राजेन्द्र विष्ट, टेकराज अवस्थी, सारान समरी,हरिबहादुर अधिकारी,दुर्गा खड्का,नरेन्द्र गिरी,राजु शेरचन, इश्वर थापा मगर,राजकुमार निरौला,हरिहजुर थापा,दुर्गा महतो,विनोद बहादुर चन्द