काठमाडौं । सांसदहरुले १३ औ दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) लाई सातै प्रदेशमा लैजाने बिषयमा सरकारको ध्यानकर्षण गराएका छन् ।
संसदको शिक्षा तथा स्वास्थ्य समितिको बैठकमा बोल्दै सांसद योगेश भट्टराईले सागका खेलहरु सातै प्रदेशमा सञ्चालन गर्ने बिषयमा सरकारको ध्यानकर्षण गराएका हुन् ।
सांसद भट्टराईले सागका खेल स्पर्धालाई सातै प्रदेशमा आयोजना गर्न सके राम्रो सन्देश जाने उल्लेख गरे । उनले प्रतियोगिताको आयोजनाले मुलुकभित्रको तिक्तता अन्त्य गर्ने बताउँदै राजनीतिक समस्या समाधानमा समेत यसले सहयोग पुर्याउने बताएका थिए । उनले सागलाई सन् २०२० को पर्यटन बर्षसंग समेत जोडेर कार्यक्रम अघि बढाउन मन्त्रालय सहित राखेपको ध्यानकर्षण गराए ।
सांसद जिवनराम श्रेष्ठले सागको तयारीका लागि निकै छोटो समय रहेको उल्लेख गर्दै प्रतियोगितालाई सफल बनाउन गम्भिर भएर लाग्नु पर्ने बताए । साग खेलकुद नेपालले आयोजना गर्ने सबैभन्दा ठुलो खेल महोत्सव रहेको उल्लेख गर्दै सांसद श्रेष्ठले प्रतियोगिताको आयोजनाले पर्यटन बर्षलाई समेत सहयोग पुग्ने उल्लेख गरे ।
सांसद नविना लामाले पारदर्शी तरिकाले सागका लागि खेलाडी छनोट गर्न आग्रह गर्दै खेलाडीले पाउने सेवा सुविधा बढाउन आग्रह गरिन् । सांसद चित्रालेखा यादवले प्रतियोगिताको व्यवस्थापनको पाटो राम्रो बनाउन मन्त्रालय र परिषद्को ध्यानाकर्षण गराईन् ।
सागको तयारीबारे जानकारी दिदै राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव रमेश सिलवालले प्रतियोगिताको तयारीका लागि आफुले दैनिक १८ घण्टासम्म काम गरेको बताएका थिए । उनले पुर्वाधारनै सागको मुख्य चुनौती रहेको उल्लेख गर्दै पोखरा र काठमाडौं रंगशालाको निर्माण तथा सातदोबाटोस्थित पौडी पोखरीको हिटिङ सिस्टम जडानको काम कात्तिक १५ अघिनै सक्ने गरि काम अघि बढेको बताए ।
सांसदका प्रश्नको जवाफ दिदै युवा तथा खेलकुद मन्त्री जगत विश्वकर्माले साग आयोजनाका लागि पुुर्वाधारनै मुख्य चुनौती रहेको उल्लेख गर्दै त्यसको सामना गर्नुको विकल्प नरहेको बताए ।
मन्त्री विश्वकर्माले सागलाई व्यवस्थित तरिकाले सम्पन्न गर्दै राष्ट्रिय अभिभारा पुरा गर्न आफुहरु दृढ संकल्प रहेको बताए । उनले सातै प्रदेशमा सागलाई लैजाने बिषय राम्रो भएपनि पुर्वाधारको अभावले तत्काल सम्भव नरहेको बताए ।
‘सिमित पुर्वाधारको पुर्ननिर्माण र मर्मत गरेर साग आयोजना गर्न गईरहेका छौ । हामीसंग भएका पुर्वाधारको अवस्था हेरेर तत्काल सबै प्रदेशमा सागलाई लैजान सम्भव छैन ।’ उनले भने, ‘कार्यविधि बनाएर सातै प्रदेशमा राष्ट्रिय खेलकुद प्रतियोगिता पालै पालो आयोजना गर्ने योजना बनाएका छौ । राष्ट्रिय खेलकुदको आयोजनासंगै सातै प्रदेशमा पुर्वाधार समेत निर्माण हुनेछ ।’
मन्त्री विश्वकर्माले खेलकुद संघको विवाद समाधानमा आफु गम्भिर रहेको उल्लेख गर्दै तेक्वान्दो बाहेक सबै खेलको विवाद समाधान गरिएको बताए ।
समिति सभापति जयपुरी घर्तिले तोकिएको समयमा साग आयोजना गर्न र धेरै पदक हासिल गर्नमा सरकारलाई केन्द्रित हुन आग्रह गर्दै राष्ट्रिय गौरवको प्रतियोगिताको सफल आयोजनामा समिति गम्भिर रहेको बताएकी थिईन् ।