काठमाडौं । बूढानीलकण्ठ उमा कुङफु क्लब, बाल विकास बोर्डिङ स्कुल र बूढानीलकण्ठ नगरपालिका वडा नं. ५ ले उमा कुङफुका संस्थापक सुरेश वैद्यलाई शुक्रबार सम्मान गरेको छ ।
विगत १७ वर्षदेखि लन्डनमा बस्दै आएका वैद्यलाई सातौं डान प्राप्त गर्न सफल भएकोमा सम्मान गरिएको हो । वैद्यले गत जुन २६ तारिखमा लन्डनको ओर्चेस्टरमा भएको उमा ब्रिटिस च्याम्पियनसिपका दौरान वल्ड युनाइटेड मार्सल आर्ट एसोसिएन (उमा) ले सातौं डान प्रदान गरेको थियो ।
वैद्य उमा कुङफुका अन्तर्राष्ट्रिय निर्णायक पनि हुन् । वैद्यले बेलायत र अन्य देशमा हुने विभिन्न प्रतियोगितामा निर्णायकको भूमिका समेत निर्वाह गरेका छन् । ५३ वर्षीय वैद्य उमा कुङफुमा २२ वर्षदेखि संलग्न छन् । त्यसअघि उनले खेलाडी हुँदै विभिन्न भूमिकामा उसुमा १२ वर्ष बिताएका थिए ।
राष्ट्रिय खेलकुद परिषद्अन्तर्गत खेलकुद विकास विभागका प्रशासकीय अधिकृत चन्द्रकुमार राईले वैद्यलाई सम्मान पत्र प्रदान गरी सम्मान गरेका थिए ।
त्यस अवसरमा वैद्यले बूढानीलकण्ठ उमा कुङफु क्लबलाई सहयोग स्वरुप खेल सामाग्री पनि प्रदान गरेका थिए । वैद्यले क्लबका अध्यक्ष दिनेश श्रेष्ठ र प्रमुख प्रशिक्षक सुकमान लामालाई करिब ३० हजार मूल्य बराबरको सामाग्री हस्तान्तरण गरे ।
सो कार्यक्रममा दोश्रो एसियाली अन्तर्राष्ट्रिय कुङफु च्याम्पियनसिपका दोहोरो स्वर्ण विजेता अयुब घिमिरे र सञ्जयराज पुटुवार तथा एक स्वर्ण जितेका सियाङ तामाङलाई पनि सम्मान क्लबले सम्मान गरेको थियो ।
उनीहरुले टिम थाउलोमा पनि रजत जितेका थिए । प्रतियोगिता जुलाई ११ देखि १४ तारिखसम्म बंगलादेशको ढाकामा भएको थियो ।