काठमाडौं । नेपालमा आयोजना भएको १२ औं दक्षिण एसियाली शारीरिक सुगठन च्याम्पियनसिपमा पदक विजेता खेलाडी नगदसहित सम्मानित हुने भएका छन् ।
च्याम्पियनसिपमा पदक विजेता नेपाली खेलाडीलाई नेपाल शारीरिक सुगठन तथा फिट्नेस संघका अध्यक्ष राजेश बाबु श्रेष्ठले व्यक्तिगततर्फबाट नगदसहित सम्मान गर्ने भएका छन् । संघका अध्यक्ष श्रेष्ठले मंगलबार पदक विजेता खेलाडीलाई नगद पुरस्कार दिने घोषणा गरेका छन् ।
अध्यक्ष श्रेष्ठले स्वर्ण विजेतालाई ५० हजार, रजत विजेतालाई ३० हजार र कास्य विजेतालाई २० हजारले सम्मानित गर्ने घोषणा गरेका छन् ।
च्याम्पियनसिपमा नेपालले ३ स्वर्ण, ७ रजत र ६ कास्य पदक जितेको थियो ।
यस्तै थाइल्याण्डमा भदौमा आयोजना हुने एसिया प्यासाफिक शारीरिक सुगठनमा नेपालबाट ३ खेलाडी पठाउने जनाएको छ । संघले नेपालमा भएको दक्षिण एसियाली शारीरिक सुगठनमा स्वर्ण विजेतालाई पठाउने जनाएको छ ।
त्यस्तै संघले चीनमा आगामी भदौमा आयोजना हुने ५३ औं एसियाली शारीरिक सुगठन च्याम्पियनसिपमा ९ खेलाडी पठाउने समेत जनाएको छ ।