काठमाडौं । सर्वाधिक उचाईमा हक्की खेलेर विश्व कीर्तिमान बनाउन नेपाल आएको बेलायतको हक्की टिमलाई नेपाल भ्रमण वर्षले सम्मान गरेको छ ।
नेपाल भ्रमण वर्षको सचिवालयले आइतबार कीर्तिमान बनाउने बेलायती हक्की टोलीलाई सम्मान गरेको हो । सचिवालयले ३४ सदस्यीय टोलीलाई सम्मान गरेको हो।
विश्वको सर्वाधिक उचाईमा हक्की खेलेर र्कीतिमान रच्न बेलायतबाट उक्त टोली नेपाल आएका हुन् । उक्त टोलीले जुलाई ११ देखि १८ सम्म माथिल्लो मुस्ताङमा हक्की खेलेका थिए । उनीहरुले समुन्द्र सतहबाट ५ हजार ५ सय मिटरको उचाईमा हक्की खेलेका थिए ।
गिनिज बुकमा नाम लेखाउने उद्देश्यले बेलायती हक्की टिम नेपाल आएका हुन् । बेलायती टोलीमा राष्ट्रिय टोलीका सदस्य एन्डी हल्लिडे समेत रहेका छन् । उनीहरुले बेलायत फर्किएपछि गिनिज बुकमा नाम लेखाउने प्रक्रिया थाल्ने छन् ।
बेलायतको एड्भेन्चर लाइफ साइन नामक टुरिजम सेन्टरबाट आएका टोलीको व्यवस्थापन भने नार्बा ट्रेक्स एन्ड एक्सेपेडिसन प्राइभेट लिमिटेडले गरेको थियो ।
बेलायती टिम आफ्नै लगानीमा हक्की खेल्न नेपाल आएका थिए । उनीहरुको बजेट १५ देखि १६ हजार डलर भएको नार्बा ट्रेक्सका प्रबन्धक निर्देशक नर बहादुर गौतमले जानकारी दिए ।