काठमाडौं । राष्ट्रिय महिला भलिबल टिममा गत महिना भुकम्पनै गयो । नेपाल भलिबल संघले दक्षिण एसियाली खेलकुद सागका लागि छनोट गरेको २५ सदस्यीय प्रारम्भिक टोलीमा नियमित कप्तान र उपकप्ताननै परेनन् ।
कप्तान बिनिता बुढाथोकी र उपकप्तान मञ्जु गुरुङ सहित नियमित ६ खेलाडी राष्ट्रिय टिमको प्रारम्भिक २५ सदस्यीय टिमबाट बाहिरिए । टिमबाट बाहिरिने खेलाडीमा कोपिला उप्रेती, कृपा अधिकारी, मनिषा चौधरी र नेविका चौधरी थिए ।
प्रारम्भिक टिममा परेका अधिकांश खेलाडी नयाँ थिए । अझै कुनै यस्ता अनुहार थिए, जो राष्ट्रिय र मोफसलका प्रतियोगितामा बिरलै देखिन्थे । कति खेलाडी त नामै नसुनिएका थिए ।
अनुभवी खेलाडीलाई बाहिर राख्दै नयाँ खेलाडी समावेश गर्ने जोखिम भलिबल संघले किन मोल्यो ? यतिबेला सर्वत्र चासोको बिषय बनेको छ ।
राष्ट्रिय टिमबाट खेल्दै आएका अनुहार प्रारम्भिक टोलीमै किन परेनन् भन्ने प्रश्न महत्वपुर्ण बनेको छ । आफ्नो उर्जाशिल समय खेलकुद र राष्ट्रका लागि खर्चिएका खेलाडीलाई प्रतिस्पर्धाकै रिङबाट बाहिर राख्ने अलोकप्रिय निर्णय भलिबल संघले किन लियो ? प्रश्न स्वभाविक बनेको छ ।
प्रारम्भिक टिमबाट बाहिर निकालिएपछि राष्ट्रिय महिला टिमका महिला खेलाडीले धेरै चित्त दुखाएका छन् । मन रुवाएर बसेका छन् । छनोटको मापदण्ड उमेर हो कि प्रर्दशन भनेर प्रश्न गरेका छन् ।
तीनै खेलाडी मध्यकी एक मञ्जु गुरुङले आफ्नो गुनासो खेलपाटीसंग पोखेकी छिन् ।
‘प्रारम्भिक टिममा नपर्दा दुख लागेको छ । मैले धेरै कुरा समाचारबाटै थाहा पाए । समाचार हेर्दा नाम कतै पनि थिएन, तर पनि खोजेकी थिए । सबैजना नयाँ नयाँ खेलाडी थिए । कतिपय त कहिल्यै नाम नसुनेको थिए । कतिपय बहिनी त एकदमै नयाँ थिए ।
कस्ता कस्ता खेलाडी परिरहेका थिए, फेरी हामी परेनौ ?
मैले नपरेका साथीलाई नि कल गरे । उनीहरु सबै छक्क परेका थिए । टिममा परेकै साथी पनि छक्क थिए ।
बढी उमेर भनेर निकालिएको रहेछ । तर हामी उमेरबाट चुकेको त थिएनौ । राष्ट्रिय टिमको छनोट थियो, त्यो पनि खुल्ला थियो । कि यु–२३, यु–२५ भनेर राख्नुपर्ने थियो ।
कप्तान बिनिता (बुढाथोकी) दिदी लिफ्टर हुनुहुन्थ्यो । उहाँको पोजिसमा उहाँ भन्दा राम्रो खेल्ने खेलाडी मैले देखेको छैन । उहाँ नै निर्विकल्प हो भन्ने लाग्थ्यो । तर उमेरकै कारणले उहाँलाई पनि फालेको भन्ने कुरा आएको छ ।
हामी राष्ट्रिय टिमको ६ जनालाई एकैपटक बाहिर राखिएको छ । प्रारम्भिक २५ जनामा राखेर ट्रेनिङमा नसकेर फालेको भए चित्त बुझ्ने थियो । तर राष्ट्रिय टिमबाट एक बर्षभित्र प्रारम्भिक २५ जनामा नपर्दा अपमान गरे जस्तो अनुभव भएको छ । त्यसो गर्न हुने थिएन भन्ने लाग्छ, तर गरियो ।
सुरुमा एकदमै रिस उठेको थियो । मन पनि दुखेको थियो । रुन पनि धेरै रोए ।
मैले भलिबल संघलाई प्रश्न गर्ने निर्णय लिए । म मात्र होईन, धेरै राम्रा राम्रा खेलाडी परेका थिएनन् ।
एपीएफकै कुरा गर्दा, बर्षभरी पहिलो हुने टिमका मात्र ४ खेलाडी परेको जस्तो लाग्छ । राम्रो खेलाडी पर्नु पर्ने हो भन्ने लाग्छ । तर त्यो भएन ।
मैले संघमा निवेदन दिए । विभागका खेलाडीले निवेदन हाल्न मिलेन ।
तर संघले छनोट कमिटिले २५ जनाको नाम छनोट गरेको हो भनेर जवाफ दियो । यसमा परिवर्तन गर्न मिल्दैन भन्ने जवाफ फर्कायो । मैले संघका केही दिदीहरुलाई भने ।
संघभित्र नि मिश्रित कुरा पाए । केहीले साहानुभुती देखाए । पर्नुपर्ने मान्छे किन परेनौ भनेर भने ।
अध्यक्षलाई समेत भेटेर भनेका थिए । उहाँले नि फेसबुकमा हेरेको थाहा पाए भन्नु भयो । अध्यक्षजस्तो मान्छेले त्यस्तो भन्न नहुने थियो । सायद उहाँलाई नि छनोटको बिषयमा जानकारी पाउने अधिकार राख्नु हुन्थ्यो होला । सायद संघले समेत छनोट कमिटिको निर्णयलाई गम्भिरता पुर्वक लिनुपर्ने हो ।
निवेदन दिदाँ समेत परिवर्तन गर्न मिल्दैन भन्ने जवाफ आयो । एकचोटि नाम बाहिर निकालेपछि परिवर्तन गर्न मिल्दैन भनेर जवाफ आएको थियो । नयाँ बहिनीहरुलाई नि राष्ट्रिय टिमको छनोटमा परेको छु भनेर पक्कै खुसी लागेको हुनपर्छ । तर प्रारम्भिक टोलीमा खेलाडी थप्न मिल्छ भन्ने लागेको थियो ।
किनकी सागका लागि समय पनि अझै छ । अलिकती आश थियो, त्यो नि भएन ।
सिधै राष्ट्रिय टिमको प्रारम्भिक टोलीमै नपर्दा धेरै रिस उठ्यो । मन पनि दुख्यो । कति दिन रोएपनि । समय थियो, परिवर्तन हुन्छ कि भन्ने आश थियो, निवेदन नि हाले तर कुनै सकारात्मक प्रतिक्रिया आएन । म भन्दा राम्रो खेलाडी परेको भए खासै चित्त दुखाई हुने थिएन । म भन्दा राम्रो बहिनी परेका भए ठिकनै हुनेथियो । तर एकैचोटी बाहिर राख्दा साह्रै चित्त दुखेको छ ।
खासमा सानै उमेरबाट भलिबल खेले । ९–१० वर्षमा जिल्लास्तरीय खेलिसकेको थिए । सानै उमेरबाट मानिसले चिन्ने भए । जसरी प्रतिभा १३ वर्षको उमेरमा चिनिइन्, म नि त्यस्तै भए । लामो समय टिममा रहदाँ सायद उमेर धेरै भयो भन्ने हुँदो रहेछ । कतिले त अब बुढी भयौ भनेर म्यासेज समेत गर्ने गरेका थिए । तर हामी एकदमै सानै उमेरबाट खेल्यौ नि त ।
अब नयाँलाई अवसर दिनपर्छ भन्ने कुरा नि हो । मेरो नि सोच त्यही थियो । एक पटक आफ्नै देश अनि आफ्नै ठाउँमा हुन लागेको सागमा राम्रो प्रर्दशन गरेर राष्ट्रिय टिमबाट बिदा लिने ईच्छा थियो ।
ईच्छा र क्षमता हुँदा हुँदै समेत सबै नमिल्ने रहेछ । चित्त साह्रै दुखेको छ । खेल आउन अझै समय छ । कम्तिमा हामीलाई प्रतिस्पर्धाको अवसर दिनुपर्छ भन्ने लाग्छ । प्रारम्भिक रुपमै प्रतिस्पर्धाको अवसर नदिएर बाहिर राख्दा अन्याय भयो भन्ने लागेको छ ।’