काठमाडौं । राष्ट्रिय महिला भलिबल खेलाडीले दक्षिण एसियाली खेलकुद प्रतियोगिता सागको तयारी सुरु गरेका छन् ।
नेपाल भलिबल संघले सागको बन्द प्रशिक्षण गत शनिबारबाट सुरु गरेको बताएपनि औपचारिक प्रशिक्षण आज (बुधबार) सुरु भएको हो । शनिबार पहिलो दिन औपचारिक परिचय गरेर बन्द प्रशिक्षण सुरु भएको घोषणा गरिएको थियो ।
बुधबार सुरु प्रशिक्षणमा प्रारम्भिक रुपमा बोलाईएका २३ खेलाडी सहभागी भए । उषा विष्ट र हिरा केसी पहिलो दिनको प्रशिक्षणमा सहभागी हुन सकेनन् ।
आठौं राष्ट्रिय खेलकुद प्रतियोगिता र विभिन्न घरेलु प्रतियोगितामा उत्कृष्ट प्रर्दशन गर्ने खेलाडीलाई समावेश गर्दै भलिबल संघले २५ सदस्यीय महिला टिमको घोषणा गरेको थियो । कप्तान बिनिता बुढाथोकी भने प्रारम्भिक टिममै स्थान बनाउन असफल रहिन् ।
बुधबार प्रशिक्षण सुरु गर्नुअघि संघका अध्यक्ष मनोरञ्जन रमण शर्माले सागमा स्वर्ण जित्ने गरि ‘प्रशिक्षित हुन खेलाडीलाई शुभकामना दिए । ‘बिना कुनै संकोच प्रशिक्षकसंग प्रष्ट र उत्कृष्ट गरि सिक्नु । आफ्नो क्षमतालाई राम्रोसंग निखार्नु ।’ उनले भने ।
मुख्य प्रशिक्षक शलिना श्रेष्ठले अभ्यासमा लागेको चोटको बेवास्ता गर्दै लक्ष्य प्राप्तीमा दृढ रहन खेलाडीलाई आग्रह गरिन । प्रशिक्षक जगदिश भट्टले प्रशिक्षणको क्रममा मानिसक रुपमा खेलाडीलाई तयार रहन निर्देश गरे ।
राखेपले महिला भलिबल टिमलाई सागको बन्द प्रशिक्षणमा राख्न ढिलाई गरेपछि भलिबल संघ आफैले खेलाडीलाई बन्द प्रशिक्षणमा समावेश गरेको हो ।
बन्द प्रशिक्षण लगनखेलस्थित आर्मीको शारिरिक तथा तालिक केन्द्रमा सञ्चालन हुनेछ । महिला टिमका खेलाडी हरेक दुई घण्टा बन्द प्रशिक्षणमा सहभागी हुने संघले जनाएको छ ।