काठमाडौं । राष्ट्रिय महिला भलिबल टिमको बन्द प्रशिक्षक आज (शनिबार)बाट सुरु भएको छ । आसन्न दक्षिण एसियाली खेलकुद प्रतियोगिता सागलाई लक्षित गर्दै महिला टिमको बन्द प्रशिक्षण सुरु गरिएको हो ।
त्रिपुरेश्वरस्थित राखेपको कभर्डहलमा आज पहिलो दिन सामान्य परिचयात्मक कार्यक्रम सम्पन्न भएको छ । दैनिक प्रशिक्षण भने साउन १ गतेबाट मात्र सुरु हुनेछ । भलिबल संघले महिला टिमको बन्द प्रशिक्षण लगनखेलस्थित आर्मीको ट्रेनिङ सेन्टरमा सञ्चालन गर्ने जनाएकाे छ ।
'पहिलो दिन परिचयात्मक कार्यक्रम मात्र भयो । अब प्रशिक्षण साउन १ गतेबाट आर्मीको ट्रेनिङ सेन्टरमा सञ्चलान गरिनेछ ।' प्रशिक्षक शलिना श्रेष्ठले खेलपाटीसंग भनिन् ।
उनले हरेक दिन मध्यान्न १२ बजेबाट दिउँसो २ बजेसम्म बन्द प्रशिक्षण सुरु गरिने जानकारी दिएकी छिन् ।
नेपाल भलिबल संघले बन्द प्रशिक्षणमा समावेश हुने २५ सदस्यीय खेलाडीको नाम यसअघिनै सार्वजनीक गरिसकेको छ ।
बन्द प्रशिक्षणमा समावेश हुने खेलाडीमा सरस्वती चौधरी, रेश्मा भण्डारी, प्रतिभा माली, अरुणा शाही, निरुता ठगुन्ना, उषा भण्डारी, शान्ति थारु, लक्ष्मी कुमाल, पुष्पा शाही, आरती सुवेदी, सुनिता खड्का, पुनम चन्द, सोफिय पुन, कविता भट्ट, हिरा केसी रहेका छन् ।
यस्तै, उषा विष्ट, कमला पुन, चन्द्रकला खरेल, संगम महतो, शान्ति तामाङ, सलिना श्रेष्ठ, यामकली कुँवर, ममता डगौरा, जानकी भण्डारी र सरस्वती कट्टेललाई समेत प्रारम्भिक टोलीमा बोलाईएको छ ।
नेपाली टिमलाई भलिबल प्रशिक्षक जगदिश भट्ट र शलिना श्रेष्ठले प्रशिक्षण दिनेछन् ।
राष्ट्रिय पुरुष भलिबल टिम भने पछिल्लो महिनायता नियमति प्रशिक्षणमा रहेको छ । काठमाडौंमा आयोजना हुने एभीसी सेन्ट्रल जोन भलिबलका लागि पुरुष भलिबल टिमले अभ्यास गरिरहेको छ ।
नेपाली टिमलाई डच प्रशिक्षक हान एबिङले प्रशिक्षण गराईरहेका छन् । एभीसी सेन्ट्रल जोनको तयारीका लागि एबिङलाई अन्तराष्ट्रिय भलिबल महासंघ एफआईभीभीले प्रशिक्षण दिन नेपाल पठाएको हो ।
प्रतियोगिता साउन ३२ देखि भदौ ८ गतेसम्म काठमाडौंमा आयोजना हुदैछ ।