काठमाडौं । सुनेका थिए, पाकिस्तानका फास्ट बलरले निकै तिब्र गतिमा बल फाल्छन् । शोहिब अख्तर, वासिम आक्रम, मोहमद इरफान र मोहमद आमिर जस्ता विश्वका तिब्र गतिका बलरको नाम सुनेका ईशानले पाकिस्तानविरुद्व ब्याटिङ गर्न पर्ने भो । सन् २०१६ को यु–१९ विश्वकपको अभ्यास खेलमा ।
मैदान उत्रर्दा पाकिस्तानी बलरले फालेको बल नदेखिने हो कि भनेर उनी निकै डराएका थिए । तर पहिलो बल खेल्दा बलरको हातबाट बल छुटेको प्रष्ट देखे । अब भने उनी ढुक्कसंग खेल्न थाले ।
ईशान पाण्डेको जन्म स्यांङ्जामा भयो । वुवा रोजगारीको क्रममा भारत बस्ने गर्थे । उनी उतै हुर्किए । भारतीय क्रिकेट संस्कृतीले उनलाई तान्यो । उनले सानैमा ब्याट समाउन सिके । सात बर्षको उमेरमा क्रिकेट एकेडेमीमा भर्ना भएर क्रिकेट सिक्न थाले ।
भारतको उत्तराखण्डमा क्रिकेट बोर्ड नभएका कारण राम्रो क्रिकेट खेल्न उत्तर प्रदेश जान पर्दथ्यो । जहाँ यु–१६ तथा यु–१९ राष्ट्रिय टिमका लागि छनोट हुन्थ्यो ।
‘छनोटमा पुग्दा कमी कमजोरी थाहा हुन्थ्यो । छनोटमा निकै उत्कृष्ट खेलाडीको जमघट हुन्थ्यो ।’ ईशान सुरुवाती दिन सम्झिन्छन् ।
प्रान्तिय स्तरको क्रिकेट खेलेर नेपाल फर्कने इशानको सपना थियो ।
यु–१९ को प्रान्तिय स्तरको प्रतियोगितामा राम्रो खेल्दै उनी शीर्ष ६४ मा परेका थिए । तर माथिल्लो स्तरको क्रिकेट खेल्न भारतीय नागरिकता चाहिने भयो । नागरिकता नलिएका ईशान्तको क्रिकेटको ग्राफ अगाडी नबढ्ने भयो । उनले त्यसपछि भारतबाट क्रिकेट खेल्ने सोच त्यागे । क्याम्पबाट फर्किए । अनि नेपालमै क्रिकेट करियर अघि बढाउने अठोट लिए ।
नेपाल फर्किएपछि उनी बालुवाटार क्रिकेट एकेडेमीमा भर्ना भए । एसएलसी सकेर आएका खेलाडीसंग पहिलो दिन प्रशिक्षण गरे । ईशानको प्रदर्शन देखेर प्रशिक्षकले दोस्रो दिनबाट सिनियर खेलाडीसंग अभ्यास गर्न सुझाव दिए । सन् २०१५ मा बालुवाटार एकेडेमीको प्रतिनिधि गर्दै उनी सुपर सिक्सटिन खेल्न थाईल्याण्ड गएका थिए । प्रतियोगितामा उनको टोली बिजेता बनेको थियो ।
यु–१९ विश्वकपका लागि तयारी सुरु हुदै थियो । नाकाबन्दी लगायतले छनोट कार्यक्रम नहुने भयो । हरेक स्थानबाट २–३ जना खेलाडीलाई बोलाएर सुपर लिग गराउने निर्णय भयो । ईशान निराश भए । विश्वकप खेल्ने सपना पुरा नहोला भन्नेमा उनी चिन्तित थिए । एकेडेमीमा रहेका सिनियर खेलाडीले एक खेल मात्र भएनी खेलाउने बाचा गरे । उनी आश्वस्त भए ।
भारतमा बस्दा उनीले नेपाली खेलाडी पछ्याउने गरेका थिए । पारस खड्का, ज्ञानेन्द्र मल्ल, शरद भेसवाकर, सुवास खकुरेल लगायतका खेलाडी बारे उनी जानकार थिए । तर उनी भने आरिफ शेखको प्रशंसक थिए । युवा उमेरमा आरिफले राष्ट्रिय टोलीमा बनाएको स्थानले ईशानलाई लोभ्याएको रहेछ ।
यु–१९ लिगमा सहभागी हुन् इशान क्रितिपुर गए । पहिलो दिननै आरिफलाई भेटे र उनको कप्तानीमा खेल खेल्ने मौका पाए । आफुले पछ्याएको खेलाडीलाई पहिलो दिनमै भेटेर उसैको कप्तानीमा खेल्न पाउनु इशानको खुसीको थियो । आरिफले नि सहयोगनै गरे ।
त्रिवि मैदानमा पहिलो पटक उत्रिएका ईशान केही नर्भस थिए । प्रतिद्वन्दी टिममा रहेका राजु रिजाल, सुनिल धमला जस्ता खेलाडीका अगाडी उनले नर्भस महशुश गरेका थिए । पाँचौ ओभरमा तेस्रो नम्बरमा ब्याटिङ गर्न आएका उनले अविजित रहदै १ सय २५ बलमा ८७ रन बनाए ।
ईशानले सुपर लिगभर राम्रो प्रर्दशन गरे । पुरै लिग अवधिभर उनलाई कीर्तिपुर बोलाईयो । उनी सर्वाधिक रन बनाउने खेलाडीमा राजु रिजाल र सन्दीप सुनारपछि तेस्रो नम्बरमा रहे । सोही प्रदर्शनको आधारमा उनले क्लोज क्याम्पमा अवसर पाए ।
सुरुमा त ईशान डराएका थिए । मनमा अनेकन तर्कना खेल्थे । उनी निकै नर्भस भएका थिए । उनले प्रर्दशन समेत खस्किदै गएको थियो । त्यही समय सुशील कँडेलले उनको मदत गरे । परिपक्क कुरा गर्ने सुशीलले उनलाई आत्मबल दिए । जानेका कुरा सिकाए । क्याम्पमा राम्रो प्रर्दशन गरेपछि विश्वकप खेल्न बंगलादेश जाने टिममा सन्दीप लामिछाने र हिमान्सु दत्तसंगै ईशानको समेत नाम थियो ।
विश्वकपमा टेस्ट राष्ट्र न्युजिल्याण्ड माथि हात पारेको जित ईशानले बिर्सन नसक्ने खेल हो । निकै प्रतिस्पर्धात्मक खेलमा नेपाल ३२ रनले बिजयी भएको थियो ।
क्वाटरफाइनलमा नेपाल टिम बंगलादेशसंग ६ विकेटले पराजित भयो । त्यो हार कहिल्यै भुल्न नसकिने ईशान बताउँछन् । विश्वकपको ईतिहासमा पहिलो पटक सेमिफाईनल पुग्ने मौका नेपालले गुमाएको क्षण थियो । अनुभवको कमीले सो खेल हारेको उनको निष्कर्श छ । कहिले काही एक्लो हुदाँ उनलाई त्यो खेलले पिरोल्ने गर्छ ।
‘जिन्दगीले नसिकाएको पाठ बंगलादेशसंगको त्यो खेलले सिकाइदियो । अन्तिम सम्म समेत हार्छौ भन्ने थिएन । अहिले पनि सो खेल हामी जित्न सक्ने थियौ भन्ने लाग्छ ।’ ईशान सम्झिन्छन् । उमेर समुहको प्रतियोगितामा आफुलाई प्रमाणित गरेका उनी पछिल्लो समय घरेलु प्रतियोगितामा समेत प्रभावी देखिन थालेका छन् ।
उनी हाल धुलिखेलस्थित काठमाडौँ विश्वविद्यालयमा मेडिकल शिक्षा अध्ययन गर्दै छन् । एकातिर क्रिकेटमा उदाउँदो भविष्य, अर्कोतर्फ मेडिकल शिक्षाको अध्ययन । एक दिन खेल र पढाई रोज्नुपर्ने अवस्थामा ईशान के गर्लान ?
‘भोलीको दिनमा के हुन्छ कसलाई थाहा छ र ? अहिलेसम्म मिलाएर गरेको छु । एक दिन रोज्ने अवस्था आएमा क्रिकेटलाईनै प्राथमिकता दिनेछु ।’ ईशान दृढ देखिन्छन् ।
बिहान ९ बजेदेखि ४ बजेसम्म कलेजको पढाईमा बित्छ । सामान्य दिनमा उनी बिहान साढे ५ बजे उठ्छन् । केही समय शारीरीक ब्यायाम गर्छन । हप्तामा ३ पटक जिम जाने गर्छन । कलेज सकिएपछि उनी बेलुका दुई घण्टा क्रिकेट अभ्यास गर्छन् ।
खेलमा समस्या भए भारतीय प्रशिक्षकलाई भिडियो बनाएर पठाउने गर्छन । र प्राप्त सुझावका आधारमा खेलमा सुधारको प्रयास गर्छन । भारतबाट मेडिकल पढ्न नेपाल आएका उनलाई घरबाट क्रिकेटमा निकै राम्रो सहयोग मिलेको छ । पढाई र क्रिकेटलाई एक साथ अघि बढाउनुपर्ने बुवाको मान्यता छ ।
छोरा डाक्टर भएको हेर्ने चाहना परिवारको छ । तर खेलमा तलमाथि भएपनि उनलाई सुख छैन । पढाईमा राम्रो गरेर खेल बिगारे बुवाको गाली तयार हुन्छ । खेलमा राम्रो गरेर पढाईमा कम स्कोर आए नि उनलाई सुख छैन । दुवै चिजलाई संगै अघि बढाउनुपर्ने चुनौतीबाट ईशान घेरिएका छन् ।
प्रतियोगिता नभएको समय उनी कलेज जाने गर्छन । खेल्ने समयमा छुटेको पढाई उनी सिनियरबाट पुरा गर्छन । परिक्षाको समय भने उनको बल र ब्याटले बिश्राम पाउने गर्छ ।
‘आम विद्यार्थी फुर्सदको समयमा मोबाईल चलाउने, घुम्ने र बाहिर निस्कने गर्छन् । तर म पढाईमा बिताउने गर्छु ।’ समय व्यवस्थापनबारे ईशान भन्छन् ।
‘पढाइको चिन्ता नगर । तिमी मात्र खेलमा ध्यान देउ । छुटेको पढाई हामी सिकाउँछौ ।’ सिनियरहरु ढाँडस दिन्छन्, ‘रन धेरै बनाउन सकेनौ भने हामी रिसाउने छौ ।’
यु–१९ विश्वकपको टोलीमा परेका बेला उनी मेडिकलको प्रवेश परिक्षाको तयारीमा थिए । बंगलादेश उड्ने समय बिहान ७ बजेको थियो । बिहान ११ बजे कलेजमा परिक्षाको पुर्व तयारीको बिषयमा ब्रिफिङ थियो । त्यो समय उनी दोधारमा थिए । मनमा ठुलो पिर बोकेर उनीले बुवालाई फोन गरे । ‘नेपाललाई विश्वकपमा चिनाउने मौका फेरी आउँदैन । परिक्षा अर्को बर्ष दिँदा हुन्छ ।’ बुवाको जवाफ थियो । उनको हर्षको सिमा रहेन । यही चिजले हो, ईशानलाई क्रिकेटमा अघि बढ्ने प्रेरणा मिलेको ।
‘विश्वमा केही उदाहरण छन् । भारतमा भीभीएस लक्षमणले एमबीबीएस गरेका छन् । तर पनि उनी क्रिकेटमा चर्चित छन् ।’ ईशान उदाहरण दिन्छन् ।
विश्वकपमा राम्रो प्रर्दशन गरेर नेपाली फर्केका धेरै खेलाडी फ्रेन्चाईज क्रिकेट लिग एभरेस्ट प्रिमियर लिगमा पर्न सफल भए । तर पहिलो संस्करणको उनी बिक्न सकेनन् ।
उनले एकेडेमीका सिनियर र प्रशिक्षकसंग कुरा गरे । उनको स्लो स्टार्ट शैलीले टी ट्वान्टी शैलीको फ्रेन्चाईज खेलाउन मुस्किल हुने धेरैले बताए । नेपालीको क्रिकेट अहिले टी ट्वान्टीमा मात्र ब्यस्त छ, भारतमा लामो ढाचाको क्रिकेटमा विश्वास गरिन्छ ।
उनीपनि आफुलाई टी ट्वान्टीमा ढाल्ने निर्णयमा पुगे । ईशानको शारीरिक बनावट हेर्दै भारतमा प्रशिक्षकले उनलाई टी ट्वान्टी ढाँचामा खेल्न सिकाए । ‘ओपनिङ ब्याट्सम्यानको रुपमा पठाउनु हुन्थ्यो । आउट नहुनु भन्नु निर्देशन हुन्थ्यो ।’ इशान मुस्कुराउँदै सम्झन्छन्, ’त्यो बेला टी ट्वान्टी खेल्न मुस्किल हुने भएपनि अहिले मेरो क्रिकेट जिवनमा राम्रो पक्ष बनेको छ ।’
टी ट्वान्टी खेलमा फिट हुन उनले निकै संघर्ष गरे । बिस्तारै टी–ट्वान्टी खेल्न थाले । ब्याटिङमा स्ट्राइक रेट बढ्न थाल्यो । गत बर्ष भएको युनिभर्सिटी कपमा उत्कृष्ट खेलाडी घोषित भएका ईशान पहिलो संस्करणको पोखरा प्रिमियर लिगमा पोखरा पल्टानमा आबद्ध भए ।
उनलाई अझै समय भएको छैन भन्ने लागेको थियो । तर नरेश बुढाएरले निकै जोड गरे ।
‘सुरुमा अक्सन लाइभ हेदै थिए । मलाई कुनै टिमले लिएको थिएन । निरास हुँदै अभ्यास गर्न लागेको थिए । अन्तिममा बिराटनगर र पोखरा पल्टनले मेरो नाम छानेको रहेछन् । भाग्यवस शरद दाजुको टिममा परेछु ।’ पहिलो फ्रेन्चाइज लिगमा आबद्द हुँदाको पल इशान सम्झिन्छन् ।
क्रिकेट संघ प्रतिबन्धमा परेपछि घरेलु क्रिकेटको वातावरण शुन्य थियो । सरकार आफैले वान डे ढाँचाको प्रधानमन्त्री कप क्रिकेट आयोजना गर्ने निर्णय गर्यो । प्रधानमन्त्री कपको पहिलो संस्करणबाटै इशानले खेलेका छन् । लामो ढाँचामा खेल हुने भएकाले उनलाई खेल्न केही सहज छ । उनी सबै भन्दा बढी प्रतिस्पर्धा हुने मध्यपश्चिमाञ्चल (हालको प्रदेश ३ बाट) छनोट भए । अघिल्ला दुवै संस्करणको पीएम कप उनले मध्यपश्चिमाञ्चलबाट खेलेका छन् ।
तेस्रो संस्करणको पीएम कपमा समेत उनी प्रदेश ३ बाट खेले । टिमको नेतृत्व राष्ट्रिय टिमका कप्तान पारस खड्काले गरेका थिए । उनले प्रादेशिक टिममा १ सय ८० रन बनाए । उनले आफ्नो टिमबाट सर्वाधिक रन बनाउने खेलाडी बने । उनले ५ खेलमा २ अर्धशतक प्रहार गर्दै प्रतियोगिता अवधिभर सर्वाधिक रन बनाउने खेलाडीको चौथो स्थामा रहे । उनी भन्दा अगाडी ६ खेल खेलेका रोहित कुमार पौडेल १ सय ८८, अमित श्रेष्ठ २ सय १० र राजु रिजाल २ सय ६१ रन बनाएका थिए ।
उनले भारतमा क्रिकेट सिके । नेपाल र भारतीय क्रिकेटमा धेरै भिन्नता उनले भेटेका छन् । भारतमा क्रिकेट बोर्ड निकै बलियो भएकाले क्रिकेटमा लाग्न बुवा आमालेनै प्रेरित गर्छन । नेपालमा भने खेलेर केही हुदैन भन्ने मान्यता छ । सोचाईमा विस्तारै परिवर्तन आएपनि क्रिकेट संघ नहुँदा खेलाडीले थुप्रै सास्ती ब्यहोर्नु परेको ईशानको बुझाई छ ।
ईशान धेरै सोच्दैनन् । उनको एउटै सपना छ, लक्ष्य छ । राष्ट्रिय टिमबाट खेल्ने अनि एकल प्रर्दशनमा नेपाललाई कुनै खेल जिताउने । यदी त्यसो हुन सकेमा उनले आफ्नो क्रिकेट करियर सफल भएको मान्नेछन् ।