काठमाडौं । प्याराग्लाइडिङको पुरुष टोलीले 'एनएसजेएफ टिम अफ दि इयर' अवार्ड जितेको छ ।
नेपाल खेलकुद पत्रकार मञ्चले मंगलबार एनएसजेएफ बजाज पल्सर स्पोर्ट्स अवार्डमा प्याराग्लाइडिङको पुरुष टोली टिमलाई टिम अफ दि इयर अवार्ड प्रदान गरेको हो ।
प्याराग्लाइडिङको पुरुष टोलीले इन्डोनेसियामा गतवर्ष सम्पन्न १८ औं एसियाली खेलकुदमा नेपाललाई रजत पदक दिलाएका थिए । नेपालले पुरुष टिम क्रस कन्ट्री स्पर्धामा ११ हजार ३ सय ६४ अंक ल्याएर रजत जित्न सफल भएको थियो ।
पाइलट विमल अधिकारीको नेतृत्वमा रहेको नेपाली टिमले रजत पदक जितेको हो । नेपाली टिममा विजय गौतम, सुशिल गुरुङ, युकेश गुरुङ र विशाल थापा रहेका छन् ।
एसियाली खेलकुदको नेपालले २० वर्षपछि रजत जितेको थियो भने टिम स्पर्धामा पहिलो पटक पदक जितेको थियो ।