काठमाडौं । नेपाली खेलकुदकै प्रतिष्ठित एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड अन्तर्गत चारवटा विधातर्फको मनोनयन सार्वजनिक भएको छ ।
नेपाल खेलकुद पत्रकार मञ्चले मंगलबार वर्षको उत्कृष्ट पुरुष, महिला र युवा खेलाडी तथा प्रशिक्षक विधाको मनोनयन सार्वजनिक गरेको हो ।
मञ्चले गठन गरेको खेलाडी छनोट समितिले सार्वजनिक गरेको वर्षको उत्कृष्ट पुरुष खेलाडी विधामा क्रिकेटका पारस खड्का र सोमपाल कामी, प्याराग्लाईडिङका युकेश गुरुङ, गल्फका शुक्रराज राई र जुडोका ईन्द्रबहादुर श्रेष्ठ रहेको छन् ।
मनोनयनमा पर्ने खेलाडी तथा प्रशिक्षकको विजेता घोषणा कमलादीस्थित प्रज्ञा भवनमा असार १७ गते आयोजना हुने अवार्ड कार्यक्रममै गरिनेछ ।
मनोनयनमा पर्ने पाँच खेलाडीले बिस् २०७५ सालमा के के सफलता पाए ? उनीहरुले देशका लागि कस्तो योगदान गरे ?
खेलाडीको नाम र सफलतासहित :
युकेश गुरुङ (पाराग्लाइडिङ)
–१८औं एसियाली खेलकुदमा पाराग्लाइडिङ क्रसकन्ट्रीको पुरुष टिम इभेन्टमा रजत विजेता ।
–स्याङ्जामा भएको पाराग्लाइडिङ एक्युरिसी वर्ड कपमा कांस्य पदक विजेता ।
–एसियाडमा नेपाललाई २० बर्षपछि रजत दिलाउँदा पाँच मध्ये चार चरणमा गोल पूरा ।
–एसियाडको डेब्यु खेलमै सर्वाधिक स्कोर, स्वर्णका लागि केवल २७ अंकले पछि ।
–जापानले कुल ११ हजार ३ सय ९१ र नेपालले ११ हजार ३ सय ६४ स्कोर गर्दै क्रमशः स्वर्ण र रजत जित्यो ।
पारस खड्का (क्रिकेट)
–नेपाललाई पहिलो एकदिवसीय श्रृंखला जिताउने कप्तान ।
–युएईलाई तीन म्याचको एकदिवसीय श्रृंखलामा २–१ ले हराउँदा महत्वपूर्ण प्रदर्शन ।
–अन्तिम तथा निर्णायक खेलमा नेपाली क्रिकेट इतिहासकै पहिलो शतक प्रहार गर्दै नेपाललाई जित उन्मुख गराउन सफल ।
–पारसकै कप्तानीमा नेपाललाई आईसिसि टी–२० बिश्वकप एसिया रिजनल क्वालिफायरको उपाधि ।
–नेपालले एक बर्षमा खेलेका सबै एकदिवसीयमा बलिङ्ग र ब्याटिङ्ग दुबैतर्फ दमदार प्रदर्शन ।
–पारसले नेदरल्यान्ड्सलाई हराएर पहिलो एकदिवसीय अन्तर्राष्ट्रिय जितेको खेलमा अर्धशतक प्रहार र अन्तिम ओभरमा निर्णायक बलिङ्ग ।
सोमपाल कामी (क्रिकेट)
–नेपालले खेलेका हरेक प्रतियोगिताहरुमा उल्लेखनीय प्रदर्शन । युएईलाई एकदिवसीय अन्तर्राष्ट्रिय श्रंखलामा पराजित गर्दा बलिङ्ग र ब्याटिङ्ग दुवै तर्फ महत्वपूर्ण प्रदर्शन ।
–युएईबिरुद्धको दोश्रो एकदिवसीयमा पाँच विकेटको प्रदर्शन ।
–नेपालका लागि एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटको इतिहासमा पाँच विकेट लिने पहिलो खेलाडी ।
–युएई भ्रमणमा कुल एघार विकेट ।
शुक्रबहादुर राई (गल्फ)
–व्यावसायिक खेलाडीलाई पछि पार्दै सूर्य नेपाल इस्टर्न ओपनको उपाधि जित्न सफल ।
–सूर्य नेपाल गल्फ टुरको तीन एमेच्योर उपाधि ।
–३४औं बंगलादेश एमेच्योर गल्फ च्याम्पियनसिपमा टिम इभेन्टमा स्वर्ण पदक ।
–भियतनाममा भएको फाल्डो सिरिज गल्फको लागि नेपालबाट छनोट ।
इन्द्र बहादुर श्रेष्ठ (जुडो)
–दक्षिण एसियाली जुडो च्याम्पियनशिपमा स्वर्ण पदक ।
–भारत, बंगलादेश, श्रीलंका र पाकिस्तानका खेलाडीलाई हराउदै स्वर्णको हकदार ।
–थाईल्याण्डमा सम्पन्न युनिभर्सिटी जुडो च्याम्पियनसिपमा पनि स्वर्ण विजेता ।
–एसियन गेम्स र विश्व जुडो च्याम्पियनसिपमा सहभागी ।