काठमाडौं । राष्ट्रिय खेलकुद परिषद राखेप अन्तर्गत रहेका विभिन्न खेलकुदका संघहरुले आसन्न दक्षिण एसियाली खेलकुद प्रतियोगिता सागमा आफुहरुको भूमिका थप गर्न सरकारसंग आग्रह गरेका छन् ।
साग खेलकुदको तयारी बिषयमा राखेपले सोमबार ललितपुरमा आयोजना गरेको अन्तरक्रियामा सहभागी हुँदै विभिन्न संघका पदाधिकारीले साग खेलकुद आयोजनामा भूमिका दिन आग्रह गरेका हुन् ।
उनीहरुले प्रतियोगिताका लागि आवश्यक खेलकुद सामाग्रीको व्यवस्थापन र खेलाडी प्रशिक्षणको जिम्मेवारी संघहरुलाई दिनुपर्ने बताए ।
‘अधिकाशं खेलकुद संघहरु खेल सामाग्रीको व्यवस्थापन र खेलाडीलाई प्रशिक्षण दिन सक्षम छन् । संघलाई अधिकार सम्पन्न गराएर लैजाने हो भने उनीहरुको भूमिका बढाउनुपर्छ ।’ पौडी संघका अध्यक्ष अशोक बज्राचार्यले भने ।
‘साग आयोजनामा संघलाई भूमिका दिदाँ उनीहरुनै बढी जिम्मेवार र जवाफदेही हुन्छन् ।’ बज्राचार्यले अन्तरक्रिया कार्यक्रममा भने ।
अखिल नेपाल फुटबल संघ एन्फाका अध्यक्ष कर्माछिरिङ शेर्पाले सागलाई आवश्यक पर्ने खेल सामाग्री खरिद टेण्डन प्रक्रियाबाट नगर्न मन्त्रालय र परिषदलाई सुझाव दिए । उनले सामान खरिदको जिम्मेवारी संघलाई दिन उपयुक्त हुने सुझाए ।
‘कस्तो सामान किन्ने र कसरी खेलाडी तयारी गर्ने भन्ने बिषयमा संघनै बढी जानकार हुन्छन् । सोही कारण संघहरुलाई त्यसको जिम्मेवारी दिनु उपयुक्त हुन्छ ।’ उनले भने ।
नेपाल भलिबल संघका अध्यक्ष मनोरञ्जन रमण शर्माले साउनको अन्तिममा एभीसी सेन्ट्रल जोन प्रतियोगिता आयोजना गर्न लागेको हुदाँ आवश्यक बजेट व्यवस्थापनका लागि सरकारसंग आग्रह गरे ।
नेपाल एथ्लेटिक्स संघका अध्यक्ष राजिव शाहले साग खेलकुदमा नीजि क्षेत्रलाई समेत आबद्व गरेर प्रतियोगिता अघि बढाउन सुझाव दिए ।
‘धेरै अन्तराष्ट्रिय प्रतियोगितामा व्यापारिक क्षेत्रको सहभागीता व्यापक देखिन्छ । मन्त्रालय आफैले मार्केटिङ टिम बनाएर काम गर्दा खेलकुदमा धेरै लगानी भित्राउन सकिन्छ ।’ उनले भने ।
साग आयोजनाको मिति नजिकिदै गर्दा राखेपले आठौं राष्ट्रिय खेलकुदको समिक्षा र सागको तयारीको बिषयमा अन्तरक्रिया आयोजना गरेको थियो । कार्यक्रममा विभिन्न संघका पदाधिकारीले धारणा राखेका थिए ।
सरकारले सागका लागि आवश्यक खेल सामाग्री टेन्डरमार्फत किन्ने तयारी गरेको छ । त्यस्तै विभिन्न खेलका खेलाडीलाई सामान्य प्रशिक्षणमा राखेर अभ्यास गराईरहेको छ ।