एजेन्सी । दक्षिण अफ्रिकी राष्ट्रको सर्वाधिक ठुलो फुटबल प्रतियोगिता अफ्रिका कप अफ नेसन्स इजिप्टमा जारी छ । र, अहिले प्रतियोगिताको समूह चरणको खेलहरु संचालन भईरहेको छ ।
यता, दक्षिण अमेरिकी राष्ट्रको कोपा अमेरिका पनि ब्राजिलमा जारी छ । जसको कारण अफ्रिका कप अफ नेसन्सले धेरै चर्चा पाएको छैन । तर, अफ्रिका कप खेलिरहेको एक राष्ट्र केन्याका खेलाडी भने अहिले चर्चामा रहेका छन् ।
केन्याली डिफेन्डर जोश ओनयाङ्गो अहिले खेलले भन्दा पनि रुपले चर्चित बनेका छन् । सामाजिक संजालमा डिफेन्डर ओनयाङ्गो निकै भाईरल बनेका छन् ।
ओनयाङ्गो मात्र २६ वर्षका भए । तर, प्रशिक्षणको दौरान उनको केहि तस्बिरले आम मानिस निकै चकित परे । प्रशिक्षणको दौरान खिचिएको उक्त तस्बिरमा उनी निकै बूढो उमेरका देखिएका छन् । उनको उमेर ६२ वर्षको जस्तो देखिएको छ ।
भाईरल बनेको तस्बिरमा ओनयाङ्गोले पालेको दाह्रीमा सेतो रङ लगाईएको छ । उनको दाह्री फुलेको जस्तो देखिएको छ। जसको कारण उनी निकै पाको उमेरका खेलाडी जस्ता देखिएका छन् ।
उक्त तस्बिर सार्वजनिक भएपछि फुटबल समर्थकहरुले उनको उमेरमा शंका गर्दै विभिन्न पोष्टहरु गरेका छन् । त्यहिँ तस्बिरले ओनयाङ्गो भाईरल बनेका छन् ।
आफ्नो तस्बिर भाईरल भएपछि भने ओनयाङ्गोले आफ्नो गेटअप परिवर्तन गरिसकेका छन् । उनले आफ्नो बूढो देखिने दाह्री काटिसकेका छन् ।
जारी अफ्रिका कपमा केन्या समूह 'सी' मा रहेको छ र पहिलो खेलमा केन्या अल्जेरियासंग २-० ले पराजित भएको छ ।