काठमाडौं । अन्तराष्ट्रिय ओलम्पिक दिवसको अवसरमा आयोजित ललितपुर प्याट्रियट्स ओलम्पिक डे स्क्वास च्याम्पियनसिपमा अमृत थापा मगर र कृष्णा थापा च्याम्पियन बनेका छन् ।
लालितपुरको सातदोबाटोस्थित स्क्वास कोर्टमा शनिबार भएको पुरुष खुल्ला स्पर्धाको फाइनलमा अमृत थापा मगरले आकाश सुनुवारलाई ३–० को सेटमा हराए ।
पहिलो सेट ११–४ ले जितेका उनले दोस्रो ११–२ र तेस्रो १४–१२ ले हात पारे । दिपक थापा र अमिर ब्लोन संयुक्त रुपमा तेस्रो भए ।
महिला खुल्ला स्पर्धामा कृष्णा थापाले भावना सुनुवारलाई ३–१ को सेटमा पाखा लगाईन् ।
पहिलो खेल ७–११ ले गुमाएपनि लगातार तीन खेलमा जित निकाल्दै उनी च्याम्पियन बनेकी हुन् । दोस्रो सेट ११–५ ले जितेकी कृष्णाले दोस्रो ११–५ र तेस्रो ११–४ ले आफ्नो कब्जामा पारिन् । विपना ब्लोन र स्वस्थानी श्रेष्ठले कांस्य जितिन् ।
ब्वाईज यू–१७ मा गोपाल थापाले रोहन नेपालीलाई २–० को सेटमा हराए । पहिलो सेट ११–७ ले जितेको उनले दोस्रो सेटमा ११–१ को जित निकाले ।
पुरुष प्लेटतर्फको उपाधि महेन्द्र महर्जनले जिते ।
प्रतियोगिताका विजेता खेलाडीहरुलाई राष्ट्रिय टिम तयारी निर्देशक महेन्द्र कुमार राई र ललितपुर प्याट्रियट्सका अध्यक्ष किशोर महर्जन लगायतले पुरस्कृत गरे ।