काठमाडौं । तेक्वान्दोका ओलम्पियन दिपक बिष्ट र संगीना बैद्यसहित विभिन्न खेलका खेलकर्मी तथा व्यक्तित्वहरु सम्मानित भएका छन् ।
नेपाल तेक्वान्दो संघ प्रदेश नम्बर ३ ले शुक्रबार दिपक र संगीनासहित आधा दर्जन खेलकर्मीलाई ताम्रपत्रसहित सम्मान गरेको हो । संघले तेक्वान्दो खेलको विकासमा योगदान दिएको भन्दै पहिलो संस्करणको राष्ट्रिय ग्योरीगी तथा पुम्से तेक्वान्दो च्याम्पियनसिपको अवसरमा उनीहरुलाई सम्मान गरेको हो ।
सम्मानित हुनेमा दिपक र संगीनासंगै दोस्रो क्लास रेफ्री उतीर्ण भएका नविन कुमार श्रेष्ठ, तालिम तथा पशिक्षण विभागका प्रमुख बनेका प्रशिक्षक अर्जुन विक, अखिल नेपाल फुटबल संघका महासचिब इन्द्रमान तुलाधर, वरिष्ठ तेक्वान्दो प्रशिक्षक ईश्वरमान बज्राचार्य रहेका छन् ।
यस्तै एसियाली तथा दक्षिण एसियाली पदक विजेता मनिता शाही, आयुषा शाक्य, कोशिष खड्का, अशोक कुमार लामा र वरिष्ठ खेल पत्रकार श्याम चित्रकार रहेका छन् ।
सातदोबाटोस्थित नेपाल तेक्वान्दो संघको हलमा आयोजित कार्यक्रममा उनीहरुलाई गृहमन्त्री राम बहादुर थापा बादलले सम्मानित गरे ।
उक्त च्याम्पियनसिपमा ७ प्रदेशको खेलाडीले विभिन्न स्पर्धामा प्रतिस्पर्धा गरिरहेका छन् ।