काठमाडौं । चौथो संस्करणको खुल्ला कराते तथा किक बक्सिङ प्रतियोगिता भोलिबाट सुरु हुने भएको छ ।
मनमैजु स्पोर्ट्स क्लब र मैनमैजु डोजोको संयुक्त आयोजनामा हुने प्रतियोगिता शनिबारसम्म चल्नेछ ।
तारकेश्वर नगरपालिकाको मनमैजुमा हुने प्रतियोगितामा विभिन्न डोजो र विद्यालयगरी ५ सय ४० भन्दा धेरै खेलाडीले सहभागिता जनाउने छन् । त्यसमध्ये डोजोका ३ सय ५० र विद्यालयका १ सय ९० जना खेलाडी छन् ।
प्रतियोगितामा पुरुषतर्फ १५, २०, २५, ३०, ३५, ४०, ४५, ५०, ५५, ६०, ६५ केजी र खुला गरी १२ तैल समूहमा प्रतिस्पर्धा गर्नेछन्।
यस्तै महिलातर्फ १५, २०, २५, ३०, ३५, ४०, ४५, ५०, ५५, ६० केजी र खुला गरी ११ तैलसमूहमा प्रतिस्पर्धा हुनेछ ।
कातातर्फ पुरुष र महिला विधामा प्रतिस्पर्धा हुन्छ। प्रतियोगितामा २५ स्वर्ण पदक, २५ रजत पदक, र ५० काश्य पदकका लागि प्रतिस्पर्धा हुनेछ।
प्रतियोगितामा प्रथम स्थान हासिल गर्नेले ५० हजार, दोस्रो स्थान हासिल गर्नेले ३० हजार र तेस्रो हुने टोलीले २० हजार रुपैयाँ नगद पुरस्कार जित्नेछन्।
त्यसबाहेक उत्कृष्ट पुरुष, उत्कृष्ट महिला, उदियमान पुरुष, उदियमान महिला खेलाडी, प्रतियोगिताको उत्कृष्ट खेलाडीलाई पनि पुरस्कृत गरिने आयोजकले जनाएको छ ।
प्रतियोगितामा मनमैजु डोजो, त्रिलोक डोजो, रोयल ब्रन्चिली डोजो, इचंगुनारायण डोजो, तोयोकन वादोरियो, शोतोकन, नोबेल एकेडेमी, गोंगबु डोजो, टोखा डोजा, बालाजु डोजो, मनकामना डोजो, बुढालिनकण्ठ डोजो र नेपाल वादोरियो कराते संघले सहभागिता जनाउने छन् । यस्तै नेपाल क्वान्मुक्वन कराते, बानेश्वर डोजो, आ.याम.ए कराते, शोतोकन कराते संघ, गुजोरियो कराते संघ, बौध डोजो, सामाखुशी डोजो, मन्मनेश्वर डोजो, गोदावरी डोजो, भक्तपूर डोजो र सतुंगल डोजोको सहभागिता हुनेछ ।