काठमाडौं । सरकारले खेलकुद क्षेत्रको बजेटमा केही वृद्वि गरेको छ । संसदमा अर्थमन्त्री युवराज खतिवडाले नयाँ आर्थिक बर्षको बजेट सार्वजनीक गर्दै खेलकुद क्षेत्रलाई ३ अर्ब ९९ करोडको बजेट विनियोजन गरेका हुन् ।
अघिल्लो बर्ष सरकारले खेलकुद क्षेत्रमा ३ अर्ब ७५ करोड रुपैयाँ बजेट विनियोजन गरेको थियो ।
युवा तथा खेलकुद मन्त्रालयले ३ अर्ब ४८ करोड ७२ को सिलिङ भित्र रहेर बजेट प्रस्ताव गरेको थियो । तर सरकारले खेलकुकदमा केही रकम थप गर्दै बजेट विनियोजन गरेको हो ।
क्रिकेटलाई उच्च प्राथमिकतामा राख्दै आएको बजेटमा मुलपानी अन्तराष्ट्रिय क्रिकेट मैदानलाई दुई बर्ष भित्र सञ्चालनमा ल्याउने लक्ष्य लिईएको छ । सरकारले मुलपानी क्रिकेट मैदानको तयारीका लागि नयाँ आर्थिक बर्षमा १० करोड रुपैयाँ विनियोजन गरेको छ ।
आगामी बर्ष सरकारले उपत्यकामा अन्तराष्ट्रिय स्तरको खेलकुद परिषद निर्माणका लागि प्रारमिभक अध्ययन अघि बढाउने बताएको छ ।
सबै प्रदेशमा प्रदेशसंगको सह–लगानीमा सुविधा सम्पन्न रंगशाला र स्थानीय तहसंगको सह–लगानीमा खेलग्रामको निर्माण गर्ने सरकारले ४० करोड विनियोजन गरेको छ ।
यस्तै, सरकारले नीजि क्षेत्रको लगानीमा हुने प्रतियोगिता र निर्माण हुने पुर्वाधारलाई प्रात्साहन गर्ने नीति लिएको छ । यस्तै क्रिकेट खेलको विकासका लागि क्रिकेट एकेडेमी बनाउने सरकारले बताएको छ ।
अर्थमन्त्री खतिवडाले नवौ राष्ट्रिय खेलकुद प्रतियोगिता र आसन्न १३ औ दक्षिण एसियाली खेलकुद प्रतियोगिता सागलाई आवश्यक बजेट विनियोजन गरेको बताएका छन् ।
सरकारले संघ अन्तर्गत ३ अर्ब ९९ करोड बजेट विनियोजन गरेको हो । प्रदेश र स्थानीय तहलाई थप बजेट आउने खेलकुद मन्त्रालयका उपसचिव तथा बजेट शाखा प्रमुख रवि दवाडीले खेलपाटीलाई बताए ।
'हामीले सिलिङ अनुसार मुलपानीलाई १ करोड प्रस्ताव गरेको थियौ तर सरकारले १० करोड दिएको छ । त्यस्तै प्रदेश र स्थानीय तहको पुर्वाधार निर्माणमा २० करोड प्रस्ताव गरेको थियौ, तर सरकारले ४० करोड विनियोजन गरेको छ । यस हिसाबले स्थानीय र प्रदेश सहितको बजेटको परिणाम धेरै हुन आउँछ ।' उनले भने ।