काठमाडौं । सरकारले १३ औ दक्षिण एसियाली खेलकुद प्रतियोगिता सागको राष्ट्रिय टिमको तयारी आज (बुधबार) बाट सुरु गर्दैछ । बजेट अभावको कारण देखाउँदै राष्ट्रिय खेलकुद परिषद राखेपले प्रारम्भिक रुपमा ७ खेलका खेलाडीलाई राष्ट्रिय टिमको तयारीको प्रशिक्षणमा सहभागि गराउँदैछ ।
बुधबार बिहान ललितपुरको सातदोबाटोस्थित अन्तराष्ट्रिय खेलकुद परिसरको कराँते हलमा सागको लागि खेलाडीको विशेष प्रशिक्षण कार्यक्रमको औपचारिक उद्घाटन गर्न लागिएको छ ।
राखेपका अनुसार बुधबार सुरु हुने राष्ट्रिय टिमको तयारीमा प्याराग्लाईडिङ, सुटिङ, जुडो, भारत्तोलन, आर्चरी, टेबल टेनिस र स्क्वास खेलका खेलाडीलाई समावेश गरिएको छ । पहिलो चरणको प्रशिक्षण असार मसान्त सम्म चल्नेछ ।
उपलब्ध बजेटका आधारमा प्रारम्भिक रुपमा ७ खेल समावेश गरिएको र बजेटको व्यवस्था गर्दै अन्य खेल समेत थप गर्दै लैजाने सागका प्राविधिक समितिका सचिव रिम रानाभाटले खेलपाटीलाई बताए ।
आठौं राष्ट्रिय खेलकुदमा स्वर्ण र रजत जितेका खेलाडीलाई विशेष प्रशिक्षणमा समावेश गरिनेछ ।
सागको तयारी तथा व्यवस्थापन मुल समारोह समितिको बैठकले राष्ट्रिय टिमको तयारी जेठको पहिलो साता गर्ने निर्णय गरेको थियो । तर आवश्यक तयारी र बजेट अभावले प्रशिक्षण जेठको तेस्रो साता सुरु गर्न लागिएको छ ।
आगामी डिसेम्बरमा नेपालमा आयोजना हुने तय भएको प्रतियोगितामा २७ खेल समावेश छन् ।