काठमाडौं । काठमाडौंको टोखामा तेस्रो टग अफ बार (डोरी तान) दक्षिण एसियाली गोल्डकप च्याम्पियनसिप आयोजना हुने भएको छ ।
दक्षिण एसियाली टग अफ वार फेडरेसन र नेपाल तान डोरी संघको आयोजनामा टोखा मैदानमा गोल्डकप हुन लागेको हो । च्याम्पियनसिपमा नेपाल र भारतका ६÷६ टोलीले प्रतिस्पर्धा गर्ने छन् । च्याम्पियनसिपमा श्रीलंका, बंगलादेश र पाकिस्तान पनि सहभागी हुने जनाए पनि अन्तिम समयमा नआएको संघले जनाएको छ । च्याम्पियनसिपको व्यवस्थापन भने श्री भगवती क्लबले गरेको छ ।
च्याम्पियनसिपमा ६४० केजी सिनियर पुरुष, ४८० केजी सिनियर महिला, ६०० केजी यू–१९ पुरुष, ४४० केजी यू–१९ महिला, ५६० केजी मिक्स र ५४० केजी मिक्स स्पर्धामा प्रतिस्पर्धा हुनेछ । नेपाली खेलाडीको छनोट हिसान खेलकुद प्रतियोगिताबाट गरिएको जनाइएको छ । ६४० केजी सिनियर पुरुषमा भने भगवती क्लबले प्रतिस्पर्धा गर्नेछ । च्याम्पियनसिपमा सहभागी हुन भारतबाट उक सय ४० खेलाडी नेपाल आएका छन् ।
च्याम्पियनसिपकै दौरान दक्षिण एसियाली टग अफ वार फेडरेसनको बैठक पनि बस्ने भएको छ । यही बैठकले आगामी च्याम्पियनसिपका बारेमा टुंगो लगाउने छ ।