काठमाडौं । प्रदेश नम्बर पाँचमा सम्पन्न आठौं राष्ट्रिय खेलकुद प्रतियोगितामा पदक विजेता नेपाल पुलिस क्लबका खेलाडी तथा अफिसियलहरु नगदसहित सम्मानित भएका छन् ।
नेपाल प्रहरी खेलकुद समितिले मंगलबार खेलाडी तथा अफिसियललाई नगदसहित सम्मानित गरेको हो । खेलकुद समितिले स्वर्ण पदक विजेतालाई ५ हजार रुपैयाँ, रजत पदक विजेतालाई ३ हजार रुपैयाँ र कास्य पदक विजेतालाई २ हजार नगदले सम्मान गरेको हो । यस्तै राष्ट्रिय किर्तिमान राख्न सफल १५ जना खेलाडीहरूलाई थप नगद ३ हजार रुपैयाँ प्रदान गरिएको थियो ।
आठौंमा पुलिसले ५९ स्वर्ण, ५० रजत र ४५ कास्य गरी जम्मा १ सय ५४ पदक जितेको थियो । प्रतियोगितामा पुलिस दाेस्राे स्थानमा रहेको थियो ।
प्रतियोगितामा पुलिस क्लबबाट २४ खेलमा २ सय १७ पुरुष, १ सय ५२ महिला र ८७ जना अफिसियल गरी कूल ४ सय ५६ जनाले सहभागीता जनाएका थिए ।
पदक विजेता खेलाडी तथा पदाधिकारीहरुलाई नेपाल प्रहरी खेलकुद समितिका अध्यक्ष तथा प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले नगदसहित सम्मानित गरेका थिए ।
तस्विर : नेपाल प्रहरी