काठमाडौं । नेपाल रग्बी वल्ड कप महोत्सव अन्तर्गत शनिबार भएको मैत्रीपूर्ण खेलमा श्रीराम श्रेष्ठ र ग्रिवाणी अर्याल उत्कृष्ट खेलाडी चुनिएका छन् । खेलको पुरुषतर्फ श्रीराम र महिलातर्फ ग्रिवाणी उत्कृष्ट बनेका हुन् ।
मध्यपुर एशोसियसनको फुटबल मैदानमा भएको पुरुषतर्फको खेलमा नेपाल रग्बी टिमले जापान एवेष्डरलाई १४–५ को स्कोरमा हरायो । नेपाल रग्बीका लागि उत्कृष्ट खेलाडी चुनिएका श्रीरामले ७ अंकको योगदान दिएका थिए । त्यस्तै रविन कुमालले ट्राई मार्फत ५ स्कोर जोडे । जापान एवेष्डरका सिनिया आवकीले ट्राई मार्फत ५ अंक जोडेका थिए ।
महिलातर्फको खेलमा नेपाल महिला रग्बी टिमले हिमालय रग्बी क्लबलाई १७–१० को स्कोरमा हरायो । नेपाल महिला रग्बीको लागि १७ स्कोरनै सृजना राईले गरेकी थिईन् । उनले ३ ट्राई मार्फत १५ स्कोर र १ कन्भर्जन किक मार्फत २ स्कोर जोडेकी थिईन् । उनिले २ कन्भर्जन किकको अवसरलाई सटिक प्रहार गर्न सकिनन् । हिमालय रग्बी क्लबका लागि पन्चमाया श्रेष्ठले २ ट्राईमार्फत १० स्कोर गरेकी थिईन् ।
एक दिने महोत्सवको उद्घाटन नेपाल ओलम्पिक कमिटिका अध्यक्ष जिवनराम श्रेष्ठले गरेका थिए । महोत्सवका बिजेता टिमलाई नेपालका लागि जापानिज राजदुत मासामुसी साईगोले पुरस्कृत गरेका थिए ।
महोत्सवमा ओडिसी,जोसेफ,पानारमा र पुलिस स्कुलका एक सय खेलाडीलाई जापानिज प्रशिक्षकद्धारा रग्बी खेलको बारेमा प्रशिक्षण दिएका थिए ।
जापानमा २०१९ हुने रग्बी वल्डकपको ब्यापक प्रचार र शुभकामनाका लागि नेपाल रग्बी संघले महोत्सवको आयोजना गरेको हो ।