काठमाडौं । नेपाल खेलकुद पत्रकार मञ्चले भुकम्पमा निधन भएका खेल पत्रकार सुमन भोम्जनकाे स्मृति दिवस मनाएकाे छ ।
त्रिपुरेश्वरस्थित केन्द्रिय कार्यालयमा मञ्चले चौथो स्मृति सभाकाे आयोजना गरेर भोम्जनलाई सम्झिएको हो ।
गोरखापत्र दैनिकमा कार्यरत खेल पत्रकार भोम्जनको विस २०७२ वैशाख १२ गते गएको विनाशकारी भुकम्पमा परि निधन भएको थियो ।
तर, भोम्जनको शव वैशाख १९ गते भेटिएको थियो । साेही दिनकाे सम्झनामा मञ्चले कार्यक्रमकाे आयोजना गर्दै आएको छ ।
कार्यक्रममा बोल्दै मञ्च कार्यसमिति सदस्य तथा गोरखापत्रकर्मी प्रजित शाक्यले फुटबल र बक्सिङमा रुचि राख्ने ब्यक्तिको रुपमा भोम्जनको सम्झना गरेका थिए । शाक्यले भोम्जनको योगदानलाई मञ्चले रचनात्मक कार्यक्रमगरी सम्झिरहने बताए ।
नेपाली राष्ट्रिय टोलीका फुटबलर रञ्जन बिष्टले स्वर्गीय भोम्जन दाईका कारण आफू फुटबल खेलाडी भएको बताए । भोम्जनका आफन्त बिष्ट हेटौडाका बासिन्दा हुन् ।
मञ्चका प्रथम उपाध्यक्ष संजिव शिल्पकारले खेलकुद पत्रकारिता र मञ्चका हरेक गतिविधिमा सदा क्रियाशिल रहने आत्मिय मित्र भोम्जनलाई आफुहरुले गुमाउनु परेको बताएका थिए ।
एआईसिएस एसियाका कोषाध्यक्ष निरन्जन राजवंशीले भोम्जन नेपाली खेलकुदमा जुझारु युवा पत्रकार भएको स्मरण गरे ।
मञ्चका अध्यक्ष दूर्गानाथ सुवेदी (देवेन्द्र) ले भोम्जनको निधनले मञ्च र खेलकुद पत्रकारिता क्षेत्रमा ठुलो क्षति पुगेको बताए । पत्रकारिता क्षेत्रले एक उर्जावान खेल पत्रकार गुमाएको भन्दै उनले भोम्जनलाई खेलकुद क्षेत्रले सदा सम्झिरहने उल्लेख गरे ।
कार्यक्रममा मञ्चका सदस्यहरुले भोम्जनको तस्विरमा पुष्प गुच्छा अर्पण गरेका थिए ।