काठमाडौं । सरकारले १० औं विश्व शारीरिक सुगठन च्याम्पियनसिपका स्वर्ण विजेता महेश्वर महर्जनलाई बिहिबार नगदसहित सम्मानित गरेको छ ।
युवा तथा खेलकुद मन्त्रालयमा आयोजित एक कार्यक्रममा सरकारले महेश्वरलाई नगद ५ लाखसहित सम्मनित गरेको हो । महेश्वरलाई युवा तथा खेलकुद मन्त्री जगत बहादुर विश्वकर्माले नगद प्रदान गरे ।
सरकारले गत फागुनमा महेश्वरलाई नगदसहित सम्मान गर्ने निर्णय गरेको थियो । जसअनुसार मन्त्रालयले बिहिबार महेश्वरलाई नगद प्रदान गरेको हो ।
थाइल्यान्डको चाइमाइमा गत डिसेम्बरमा भएको प्रतियोगिताको महेश्वरले पुरुष ७५ केजीमा स्वर्ण जित्दै इतिहास रचेका थिए ।
विश्व शारीरिक सुगठनमा स्वर्ण जित्ने महेश्वर एक्लो नेपाली खेलाडी हुन् ।
महेश्वर एसियाली शारीरिक सुगठनका पनि एक्लो स्वर्णधारी नेपाली खेलाडी हुन् ।
सम्मानित भएपछि बोल्दै महेश्वरले सरकारबाट पुरस्कृत हुन पाउँदा खुसी भएको बताए ।
'एकदमै खुसी छु । सरकारले खेलाडीलाई सम्मानित गरेको छ । मन्त्रीज्युले यो खेल बुझेर सहयोग गर्ने आशा राखेको छु,' महेश्वरले भने ।