काठमाडौं । सातौं संस्करणको मिस्टर हिमालय शारीरिक सुगठन प्रतियोगिता एवं दोश्रो पुरुष फिट्नेस फिजिक्स तथा महिला एथलेटिक्स फिजिक्स प्रतियोगिता शुक्रबारबाट सुरु हुने भएको छ ।
नेपाल शारीरिक सुगठन तथा फिटनेश संघले बुधबार पत्रकार सम्मेलन गर्दै प्रतियोगिता शुक्रबार र शनिबार आयोजना हुने जनाएको छ ।
यस्तै आयोजक संघले प्रतियोगिताको सम्पूर्ण तयारी समेत पुरा भएको जनाएको छ । प्रतियोगिताको प्रि जजिङ्ग चरण जावलाखेलस्थित डीएभी कलेज र फाइनल चरण प्रज्ञा भवन कमलादीमा हुने जनाएको छ ।
प्रतियोगताको मिस्टर हिमालयतर्फ ५५, ६०, ६५, ७०, ७५ र ७५ केजी माथीको तौल गरि ६ वजन समूहमा प्रतिस्पर्धा गराईने संघले जनाएको छ । प्रतियोगितामा देश भरबाट करिब १३० खेलाडीले प्रतिस्पर्धा गर्ने आयोजकले जनाएको छ ।
प्रत्येक वजन समूहका खेलाडीहरुकाबीच शुक्रबार हुने प्रि जजिङ्ग चरणबाट शनिबार हुने अन्तिम चरणका लागि प्रत्येक वजन समूहका ५ खेलाडी छनोट गरिने छ । प्रत्येक वजन समूहका शीर्ष तीन स्थान हात पार्ने खेलाडीहरुले स्वर्ण, रजत र कास्य पदक, प्रमाण पत्रका साथै नगद २५, १५ र १० हजार प्राप्त गर्ने छन् । यस्तै चौथो र पाँचौ हुने खेलाडीले ट्रफी र प्रमाण पत्र प्राप्त गर्ने छन् ।
यस्तै प्रत्येक वजन समूहका प्रथम स्थान हात पार्ने खेलाडीहरुले मिष्टर हिमालय उपाधीका लागि प्रतिस्पर्धा गर्ने छन् । समग्रको प्रतिस्पर्धामा प्रथम हुने खेलाडीले “मिस्टर हिमालय” उपाधीका साथै नगद २ लाख ५० हजार सहित ट्रफी तथा ब्यानेटले सुसज्जित हुनेछन् ।
अर्को संस्करणबाट भने पुरस्कार राशी ५ लाख पुग्ने संघले जनाएको छ । यस्तै अर्को संस्करणबाट यस प्रतियोगिता मिस्टर हिमालय प्रो र मिस्टर हिमालय एमेचोर गरि दुई भागमा विभाजन गरेर प्रतिस्पर्धा गराईने समेत जनाएको छ ।
यस प्रतियोगिता असार ५,६ र ७ गते काठमाडौंमा आयोजना गरिने १२ औं दक्षिण एशियाली शारीरिक सुगठन प्रतियोगिताको लागि छनोट प्रतियोगिता समेत रहेको संघले जनाएको छ ।
प्रतियोगिताकै दौरान शारीरिक सुगठन विधा अन्तरगत हुने दोश्रो पुरुष फिट्नेश फिजिक्स तथा महिला एथलेटिक्स फिजिक्स २०७६ पनि आयोजना हुनेछ । उक्त स्पर्धामा पुरुष तर्फ १७० सेमि र त्यो भन्दा माथि गरि दुई विधा तथा महिला एथलेटिक्स फिजिक्सका खेलाडीहरुलाई प्रिजजिङ्ग चरणमा प्रतिस्पर्धा गराई प्रत्येक समूहबाट ५ खेलाडी दोश्रो दिन हुने फाईनल चरणका लागि छनोट गरिने छ ।
फाईनल चरणमा शिर्ष तीन स्थान हात पार्ने खेलाडीहरुले स्वर्ण, रजत र कास्य पदक, प्रमाण पत्रका साथै नगद २५, १५ र १० हजार प्राप्त गर्ने छन् । यस्तै चौथो र पाँचौ हुने खेलाडीले ट्रफी र प्रमाण पत्र प्राप्त गर्ने छन् ।
प्रतियोगितालाई काठमाडौं स्टिल कम्पनि प्रालिले मुख्य प्रायोजन गरेको छ । प्रायोजन वापत स्टिलले संघलाई नगद ७ लाख उपलब्ध गराउने स्टिल एमडी केशब राज पोखरेलले जानकारी गराए ।