काठमाडौं । नेपाली राष्ट्रिय टोलीका सदस्य संजय श्रेष्ठ र लाल मोहर यादवले भारतमा आयोजना हुने कबड्डीको फ्रेन्चाइज लिग प्रो कबड्डी खेल्ने भएका छन् ।
प्रो कबड्डीको नयाँ सिजनका लागि भारतमा भएको अक्सनबाट संजय र लाल बिक्रि भएका छन् । संजय र लाललाई बैंगलुरु बुल्सले खरिद गरेको हो ।
मुम्बईमा भएको अक्सनको 'सी' श्रेणीमा रहेका संजय र लाललाई बैंगलुरुले समान १०/१० लाख भारुमा क्लबमा भित्राएको हो ।
अलराउण्डर संजयले यसअघि सात सिजन प्रो कबड्डी लिग खेलिसकेका छन् । संजयले चौंथो र पाँचौ सिजन बैंगलुरुबाटै खेलेका थिए ।