काठमाडौं । आठौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको मुख्य केन्द्र नेपालगन्ज रंगशालामा निर्माण भइरहेको भिआइपी प्याराफिटको छानो लगाउने काम सुरु भएको छ ।
बैशाख ५ गते उद्घाटन हुने प्रतियोगितामा आउने अतिविशिष्ट, विशिष्ट पाहुनाका लागि निर्माण भइरहेको भिआइपी प्यारापिटको छानो लगाउन अघि बढेको हो ।
मध्यपश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिका अध्यक्ष भीम ओलीले दुई दिनभित्र छानो लगाउने काम सकिने गरि काम भइरहेको जानकारी दिए । भिआइपी प्याराफिटसँगै रंगशाला व्यवस्थापनको काम अन्तिम चरणमा पुगेको ओलीले बताए ।
प्रतियोगिताको उद्घाटन र समापन सोही रंगशालामा हुनेछ ।
फिल्डमा लगाइएको बरमुडा दुबो पनि हुर्किसकेको छ । फुटवल खेलका लागि दुवोसहित तयार पारिएको फिल्ड आइतबारबाट सम्याउन थालिएको छ । रोलरको सहायतामा फिल्ड सम्याउन सुरु भएको हो ।
प्रतियोगिताको उद्घाटन राष्ट्रपति र समापन प्रधानमन्त्रीले गर्ने कार्यक्रम तय भएको प्रतियोगिता प्रचार प्रसार उपसमितिले जनाएको छ ।