काठमाडौं । पाँचौ मिस्टर फिटनेस फर्स्ट तथा मेन्स स्पोर्ट्स फिजीक च्याम्पियनसिप शनिबार आयोजना हुने भएको छ ।
आयोजक फिटनेस फर्स्ट क्लबले आइतबार पत्रकार सम्मेलन गर्दै च्याम्पियनसिप चैत ३० गते हुने जनाएको छ ।
च्याम्पियनसिपको फिटनेस फर्स्टतर्फ पाँच वजन समूहमा प्रतिस्पर्धा हुनेछ । जसमा ५५ केजी, ६० केजी, ६५ केजी, ७० केजी र ७० केजी माथिको तौल समूहमा प्रतिस्पर्धा हुनेछ ।
हरेक समूहका विजेताले पदकसहित १० हजार, उपविजेताले ५ हजार र तेस्रोले ३ हजार नगद प्राप्त गर्ने छन् । चौंथो र पाँचौले ट्रफीसहित गिफ्ट ह्याम्पर पाउने छन् ।
फिटनेस फर्स्ट प्रतियोगिताको प्रत्येक समूहको विजेताबीच प्रतिस्पर्धा गराई समग्रमा पहिलो हुनेले मिस्टर फिटनेस फर्स्टको उपाधि दिइने छ । उपाधि ट्रफीसंगै विजेताले नगद ५० हजार पाउने छन् । यस्तै एक खेलाडीले वेष्ट पोजर उपाधिसहित ५ हजार पाउने छन् ।
त्यस्तै मेन्स फिजीकमा १६५ सेमी मुनि र १६५ सेमी माथिका फरक फरक स्पर्धामा प्रतिस्पर्धा हुनेछ । प्रत्येक उचाई समूहका विजेताले १५ हजार, उपविजेताले ५ हजार र तेस्रोले ३ हजार नगद पुरस्कार पाउने छन् ।
प्रतियोगिताको दौरान थाईल्याण्डमा आयोजना भएको विश्व शारीरिक सुगठनमा स्वर्ण विजेता महेश्वर महर्जनलाई सम्मानित गरिने छ ।