काठमाडौं । थाइल्यान्डमा हुने १६ औं विश्व मुवाँथाई च्याम्पियनसिपमा नेपालका दुई खेलाडीले प्रतिस्पर्धा गर्ने भएका छन् ।
मार्च १२ देखि २० बैकंकमा नेपालका राहुल श्रेष्ठ र पलिस्था कक्षपतिले चुनौती प्रस्तुत गर्ने भएका हुन् ।
नेपाल राष्ट्रिय मुवाँथाई सघका अध्यक्ष गणेशलाल कक्षपतिको नेतृत्वमा उक्त च्याम्पियनसिपमा प्रतिस्पर्धा गर्नेछन् ।
च्याम्पियनसिपमा सहभागी हुने नेपाली चार सदस्यीय टोलीलाई मंगलबार एक कार्यक्रमकाबीच बिदाई गरिएको छ । गिनिज बुक अफ वल्र्ड रेकर्डमा दुई पटक नाम लेखाउन सफल दिनेश सुनारले बिदाई गरे ।
च्याम्पियनसिपमा राहुलले ५७ केजीमुनि सेमि प्रोफेसनल र पलिस्थाले ३५ केजीमुनि एमेच्योरमा प्रतिस्पर्धा गर्ने मुख्य प्रशिक्षक समेत रहेका कक्षपतिले जानकारी दिए ।
टोलीको सहायक प्रशिक्षकमा उत्तम गुरुङ छन् । राहुलले अन्तर्राष्ट्रिय च्याम्पियनसिपमा तीन स्वर्ण जितेका छन् भने पलिस्थाले दुई स्वर्ण पदक प्राप्त गरिसकेकी छन् ।