काठमाडौं । चिल्ड्रेन मोडल छैटौं ईण्डो नेपाल गोजुकाई च्याम्पियनसिप २०१८ मा टिम च्याम्पियन बन्न सफल भएको छ । चिल्ड्रेनले ५ स्वर्ण पदकका साथ टिम च्याम्पियन ट्रफी उचाल्न सफल भएको हो । प्रतियोगितामा पुरुष तर्फ चाँदवाग स्कुलका आरोग्य पौडेल र महिला तर्फ डियर वाककी सृष्टि महतो उत्कृष्ट खेलाडी घोषित भए । विजयी खेलाडीहरुले ट्रफी र प्रमाण पत्र प्राप्त गरे ।
नेपाल गोजुकाई कराते डो संघको आयोजनामा भएको प्रतियोगिताको पुरुष २० केजी तौलमा चाँदवागका आरोग्य पौडेलले स्वर्ण पाए । उनले एनओबिएसका सुसन माझीलाई पराजित गरे । २५ केजी तौलमा नवज्ञानभूमिका दिपेश थापालाई पाखा लगाउंदै चिल्ड्रेन मोडलका पुजन लामाले स्वर्ण कब्जा गरे । ३० केजी तौलमा नवज्ञानभूमिका दिवस जंग थापाले स्वर्ण र लुम्बिनी एकेडेमीका प्रनिश कार्कीले रजत पाए ।
३५ केजी तौलमा युनाईटेड डोजोका प्रतिक पौडेलले ज्ञानज्योतीका सुवोध थापामगरलाई पाखा लगाउंदै स्वर्ण हात पारे । ४० केजी तौलमा मित्रपार्क डोजोका अभिषेक खत्रीले स्वर्ण र चिल्ड्रेन मोडलका विशाल गुरुङ्गले रजत पाए । ४५ केजी तौलमा नेशनल युनाईटेडका सुसन केसीले पहिलो स्थान हात पारे । उनले फाईनलमा प्रक्सिस स्कुलका नितेश राईलाई पराजित गरे ।
५० केजी तौलमा चिल्डेन मोडलका सुवाश तामाङ्गले नेशनल युनाईटेडका आकाश श्रेष्ठलाई पराजित गर्दै स्वर्ण प्राप्त गरे । ५५ केजीमा चिल्डेनका प्रविण दनुवार र अनमोल ज्योतीका रविन यादव पहिलो र दोश्रो भए । ६० केजी तौलमा भारतका रोहित बोसलाई पराजित गर्दै नवज्ञानभूमिका सुमिर लामाले स्वर्ण पोल्टामा पारे ।
पुरुषकै खुल्ला तौल तर्फ टेक्सासका प्रविण रुना पियालीले स्वर्ण हात पार्दा भारतका स्वर्णभा शाहले रजत पाए । काता तर्फ भारतका स्वर्णभा शाहले स्वर्ण पाए । दोश्रो स्थानमा जगत मन्दिरका सोहेन्द्र राना रहे ।