नायक मार्टिनेज

काठमाडौं। स्ट्राइकर लाउटारो मार्टिनेजको दोस्रो हाफमा आएको दुई गोलसँगै इन्टर मिलानले आइतबार पिजाविरुद्व २–० को जित निकाल्यो।
प्रदर्शन खासै सन्तोषजनक नभए पनि यो नतिजाले इन्टरलाई सिरी ‘ए’ को उपाधि दौडमा मजबुत रूपमा जोगाइरहेको छ। क्रिस्टियन किभूको व्यवस्थापनमा इन्टर अहिले २७ अंकसहित तेस्रो स्थानमा छ। दोस्रो स्थानको रोमासँग एक अंक बढी भए पनि एक खेल कम खेलेको छ।
शीर्षमा रहेको एसी मिलान भने एक अंक अगाडि छ। पिजा भने १० अंकसहित तेस्रो अन्त्यमा रहँदै संकटमै छ। गत साता मिलानसँगको डर्बी हार र च्याम्पियन्स लिगमा एट्लेटिको म्याड्रिडसमक्ष पराजयपछि इन्टर पुनः जितको बाटो समाउन टस्कानी पुगेको थियो।
तर, नयाँ प्रमोटेड पिजाले उनीहरूलाई निकै चुनौती दियो। घरेलु टोलीले धेरै अवसर बनायो। तर, सदुपयोग गर्ने कला भने इन्टरकै पक्षमा रह्यो।
‘दुई हारपछि आएको यो जितले खुसी लागेको छ,’ मार्टिनेजले डाजोनसँग भने,‘म आलोचना सुन्दै आएको मान्छे हुँ। म आफैं, इन्टर र परिवारका लागि काम गर्छु। बाहिरका चर्को आवाजलाई म त्यत्तिकै छोडिदिन्छु।’
६९औं मिनेटमा लाउटारोले पहिलै टचमै बललाई जाली चुमाएपछि खेल इन्टरतिर ढल्कियो। सात मिनेट बाँकी रहँदा उनले नजिकैबाट अर्को गोल थपे र जित सुनिश्चित बनाए।
पिजाले यो सिजन लिगमा एक पटक मात्र जितेको छ। तर, पछिल्ला ६ खेलमा अपराजित यात्रा बनाएको थियो।
पहिलो हाफमा इन्टरलाई बारम्बार दबाबमा राखेको थियो। पाहुना टोलीले सेट–पिसमार्फत मात्र केही दबाब सिर्जना गर्न सकेको थियो।







-1764553584985.webp&w=3840&q=75)




-1764506941728.png&w=3840&q=75)