मार्टिनेजलाई बाहिर राख्दै अर्जेन्टिनाको टोली घोषणा

काठमाडौं। अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलका लागि अर्जेन्टिनाले टोली घोषणा गरेको छ। टोलीका पहिलो रोजाइका गोलरक्षक एमिलियानो मार्टिनेजलाई आराम दिइएको छ।
दक्षिण अमेरिकाको विश्वकप छनोट खेलहरू सकिएपछि त्यस क्षेत्रका देशहरूले अहिले मैत्रीपूर्ण खेल खेल्दैछन्। यसै क्रममा अर्जेन्टिनाले यो वर्षको अन्तिम मैत्रीपूर्ण खेल नोभेम्बर १४ मा एंगोलासँग खेल्नेछ। उक्त खेलका लागि घोषणा गरिएको टोलीमा मार्टिनेजबाहेक अरू केही अनुभवी खेलाडीहरू पनि परेका छैनन्।
यस पटक अर्जेन्टिनाले स्थानीय लिगका खेलाडीहरूलाई नबोलाउने निर्णय गरेको छ। यसमा प्रशिक्षक लिओनल स्कालोनीको पनि सहमति थियो। त्यसैले अघिल्लो पटक खेल्ने टोलीका लियान्द्रो पारेदेस (बोका जुनियर्स), गोन्जालो मोन्टिएल र लाउटारो रिभेरो (रिभर प्लेट) तथा मार्कोस एकुन्या टोलीमा छैनन्।
यसपटक जोआक्विन पानिचेल्ली, जियानलुका प्रेस्टियानी र म्याक्सिमो पेरोनेले पहिलोपटक राष्ट्रिय टोलीमा स्थान पाएका छन्। साथै भ्यालेन्टिन बार्कोलाई टोलीमा पुनः फर्काइएको छ।
जोआक्विन पानिचेल्ली हाल फ्रान्सको क्लब स्ट्रासबर्गमा खेल्छन्। ६ फिट २ इन्च अग्लो यी स्ट्राइकरले यस सिजनमा ९ गोल गरेका छन्। १९ वर्षका जियानलुका प्रेस्टियानी हाल पोर्चुगलको क्लब बेन्फिकाका लागि खेल्दै छन्। उनले हालसम्म १ गोल र २ असिस्ट गरेका छन्।
अनुभवी खेलाडीमा कप्तान लिओनल मेसी, रोड्रिगो डी पोल, र एलेक्सिस म्याक–अलिस्टर पनि छन्। एमिलियानो मार्टिनेज अनुपस्थित भएकाले प्रशिक्षकले गोलपोस्टमा जेरोनिमो रुली र वाल्टर बेनितेजमध्ये कसलाई खेलाउँछन् भन्ने रोचक हुने देखिएको छ।













