गम्भीर संकटमा युभेन्ट्स

काठमाडौं। इटालियन फुटबल क्लब युभेन्ट्स अहिले गम्भीर संकटमा छ। केही साताअघि लगातार ड्र गर्दै आएको टुरिनको यो क्लबले अहिले पराजयको सिलसिला तोड्न सकेको छैन।
गत साताको कोमोविरुद्धको हारपछि आइतबार लाजियोसँग पनि पराजित भएको छ, युभेन्ट्स। सबै प्रतियोगिता मिलाएर इगोर टुडोरको टोलीका लागि यो लगातार तेस्रो हार हो।
रोमको स्टाडियो ओलिम्पिकोमा घरेलु लाजियोले युभेन्ट्सलाई १–० ले हरायो। खेलको नवौं मिनेटमै टोमा बासिचले गरेको गोलले लाजियोलाई जित दिलायो।
यसअघि युभेन्ट्सले गत हप्ताको च्याम्पियन्स लिगमा रियल मड्रिडसँग १–० ले हार भोगेको थियो। त्यसअघि सिरी ए कोमोले पनि २–० ले हराएको थियो। ती खेलअघि लगातार पाँच खेलमा ड्र खेलेको युभेन्ट्स अहिले विजयी लय समात्न संघर्षरत छ।
सिजनको सुरुआतमा शीर्ष स्थानका दाबेदारमध्ये रहेको युभेन्ट्स अहिले शीर्ष पाँचबाट पनि बाहिरिएको छ। आइतबारको हारपछि तालिकाको आठौं स्थानमा झरेका छन्।
लगातार हारका कारण प्रशिक्षक इगोर टुडोरमाथि दबाब बढ्दै गएको छ। टिमको प्रदर्शनमा छिट्टै सुधार नआए उनी बर्खास्त हुन सक्ने चर्चासमेत सुरु भएको छ।
त्यसै रात भएको अर्को सिरी ए खेलमा रोमा १–० ले सासुओलोलाई पराजित गर्दै अंकतालिकाको दोस्रो स्थानमा उक्लिएको छ। पाउलो डिबालाको एकमात्र गोलले नै रोमालाई जित दिलाएको थियो।











-1761484988698.png&w=3840&q=75)
copy-1761474438174.jpg&w=3840&q=75)